हामीलाई 'हनिमुन पिरियड' चाहिँदैन, दिन होइन सेकेन्ड गनेर काम गर्छौं : रवि लामिछाने

हामीलाई 'हनिमुन पिरियड' चाहिँदैन, दिन होइन सेकेन्ड गनेर काम गर्छौं : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महिला सशक्तीकरण र ज्येष्ठ नागरिकको सुरक्षाका लागि राज्यले नवीन र ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले शिक्षा, रोजगारी र राज्यका हरेक तहमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरिने बताए। लामिछानेले महिला अधिकारको विषय अब केवल 'समानता' को नारामा मात्र सीमित नहुने प्रष्ट पारे। 

उनले भने, "हामी सुनिश्चित गर्नेछौं, शिक्षा र रोजगारिमा बराबर पहुँच। राज्य र हरेक तहमा अर्थपूर्ण प्रतिनिधत्व। कर्म स्थल र समाजमा सुरक्षा र सम्मान। महिला विरुद्धका हिंसामा सुन्य सनसिलाता कुनै छोरिले अब आफ्नो सपना सानो बनाउनुपर्ने छैन। अबको यात्रा केवल समानताको होइन सशक्ति करणको हुने छ।"

उनले सरकारलाई ‘हनिमुन पिरियड’ आवश्यक नरहेको उल्लेख गर्दै छिटो काम गर्ने प्रतिबद्धता व्यक्त गरे। "हामीलाई हनिमुन पिरियडको सुविधा पनि चाहिँदैन। हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौं, त्यो सुरु गरिसकेका छौं," उनले भने।

लामिछानेले विपक्षी दलका प्रतिबद्धतासमेत कार्यान्वयन गर्न तयार रहेको स्पष्ट पार्दै विगतका सरकारबाट सिक्ने प्रतिबद्धता जनाए। "हामी आफ्ना मात्र होइन, विपक्षी दलका चुनावी प्रतिबद्धता पनि स्वामित्व लिन तयार भएर आएका छौं। यसअघि पनि पटक-पटक एकल बहुमतका सरकार नबनेका भने होइनन्। तर ती सरकारहरू इतिहासका अंग बने, इतिहास बदल्ने औजार बन्न सकेनन्। हामी इतिहासबाट सिक्न लाज मान्ने छैनौं," उनले भने।

उनले जनताले दिएको बहुमतलाई गुमेको अवसरका रूपमा इतिहासमा लेखिन नदिने प्रतिबद्धता पनि व्यक्त गरे। "जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास फेरि ‘गुमेको अवसर’ भनेर लेखियो भने कलंकित हुनेछौं, हामीलाई त्यो मन्जुर छैन," उनले भने।

चैत १९, २०८२ बिहीबार १५:२९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।