श्रमिकका पीडा 'कथा' होइन, अब 'नीति' बन्नेछन् : रवि लामिछाने

श्रमिकका पीडा 'कथा' होइन, अब 'नीति' बन्नेछन् : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान संसदको जनादेशको वास्तविक रचिएता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू भएको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अबको सरकारले प्रवासमा रहेका नेपालीहरूको त्याग र बलिदानको सम्मान गर्ने बताए। 

राज्यले अहिलेसम्म वैदेशिक रोजगारीलाई केवल ‘रेमिट्यान्स’सँग जोडेर हेरिएको तर श्रमिकहरूको त्यागको उचित सम्मान नगरेको उनले बताए। लामिछानेले अबका दिनमा श्रमिकका समस्या र पीडा केवल सुनाइने कथामा मात्र सीमित नभई राज्यको 'नीति' र 'प्राथमिकता' बन्ने घोषणा गरे। 

उनले भने, "आजको संसदको जनादेशका वास्तविक रचिएता हुनुहुन्छ वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइ दिदी बहिनीहरू। यो देशमा आज सम्म तपाईंहरूले पठाएको रेमिटेन्सको कुरा भयो। तर आज म पैसाको होइन, तपाईंहरूले तिर्नुभएको व्यक्तिगत मूल्यको कुरा गर्छु। परिवारबाट अल्गिनु भयो, आमाबुवाको साथ गुमाउनु भयो, कलिला छोरा छोरीको बाल्यकाल गुमाउनु भयो। चार्ड पर्वको रमाइलो, परिवारको माया। आफ्नो गाउँघरको न्यानोपन गुमाउनुभयो। कतिले आमाबुबाको मृत्युमा काँध थाप्न पाउनु भएन। कतिपयले सन्तानको पहिलो पाइला देख्न पाउनु भएन। आज म क्षमायाचनाका साथ स्वीकार गर्छु। यो देशले तपाईंहरूको त्यागको सम्मान गरेन। अब तपाईँहरूको पीडा कथा बन्ने छैन। नीति बन्ने छ। राज्यको प्राथमिकता बन्ने छ।" 

लामिछानेले वैदेशिक रोजगारीको क्षेत्रमा व्याप्त बेथिति र श्रम शोषण अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। बिचौलिया र श्रम माफियाहरू अब कानुनी कारबाहीको दायरामा आउने उनले दाबी गरे। "बिचौलिया र श्रममाफिया कारबाहीका भागिदार बन्ने छन्। अबको नीति तथा कार्यक्रम तपाईंहरूको हुने छ," उनले भने, "अब खाडीमा जाने राजदूत बिचौलियाको टेबुलमा होइन, श्रमिकहरूको शिविरमा भेटिनेछन्।"

उनले वर्तमान सरकार र संसद् युवाहरूकै संघर्षको प्रतिफल भएको स्मरण गराए। युवाहरूलाई दक्ष र आत्मनिर्भर बनाउन, रोजगारी सृजना गर्न र नवीन प्रवर्द्धनमार्फत नेतृत्वदायी अवसर प्रदान गर्न सरकार दृढ रहेको उनको भनाइ थियो।

चैत १९, २०८२ बिहीबार १५:२०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।