शान्तिपूर्ण प्रदर्शनमा सरकारले निर्मम दमन गर्‍यो : बराल

शान्तिपूर्ण प्रदर्शनमा सरकारले निर्मम दमन गर्‍यो : बराल

काठमाडौं : एमाले सांसद गुरु बरालले पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरेको बताएका छन्।

फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा उनले नेपालको संविधान प्रदत्त अधिकार 'सम्मानपूर्वक बाँच्न पाउने हक' को ठाडो उल्लंघन भइरहेको आरोप लगाए। उनले वर्तमान सरकारका गतिविधिहरू संवैधानिक रूपमा उचित नरहेको तर्क गरे।

उनले भने, "आज देशमा संविधानको बर्खिलाप गतिविधिहरू भइरहेका छन्। नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यसँग सम्बन्धित विषयको धारा १६ ले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक छ। म सरकारको ध्यानाकर्षण गर्दछु की अहिले देशमा जति घटनाहरू घटिरहेका छन्, यो घटनाहरू संवैधानिक रूपबाट उचित छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधि १८१ र ८२ लाई गलत ढंगले प्रयोग गरेर आज बन्दी बनाइएको छ। यो गम्भीर आपत्तिको विषय छ।"

साथै उनले काठमाडौं लगायत विभिन्न ठाउँहरूमा शान्तिपूर्ण प्रदर्शन गर्दा सरकारले निर्मम दमन गरेको आरोप लगाए। उनले भने, "यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ, काठमाडौं लगायत विभिन्न ठाउँहरूमा शान्तिपूर्ण प्रदर्शन गर्दा आज सरकारले निर्मम दमन गरेको छ।"

प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे। एमालेका सांसदहरूले अटेर गरेपछि सांसद गुरु बराललाई बोल्न समय दिएका थिए।

चैत १९, २०८२ बिहीबार १४:४९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।