संसद्को पहिलो बैठकमै एमालेको अवरोध, ओली र लेखकको रिहाइको माग
काठमाडौं : फागुन २१ को निर्वाचनपछि बसेको प्रतिनिधि सभाको पहिलो बैठकमै एमालेका सांसदहरूले अवरोध गरेका छन्। प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै एमालेका सांसदहरू संसद् बैठकमा उभिएर अवरोध गरेका थिए। बैठकको अध्यक्षता गरिरहेका अर्जुन नरसिंह केसीले पहिलो बैठकलाई विना अवरोध अगाडि बढ्न दिन आग्रह गर्दा नमानेपछि उनले एमाले सांसद गुरु बराललाई बोल्न समय दिएका थिए।
बरालले बोल्ने क्रममा वर्तमान सरकारले संविधान विपरीत गतिविधि गतिविधि गरिरहेको भन्दै एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको रिहाइको माग गरे।
सरकारले संवैधानिक र मौलिक हक विरोधी काम गर्दै ओली र लेखकलाई पक्राउ गरेको र पक्राउको विरोधमा भएको प्रदर्शनमा प्रहरी दमनमा परेर सांसदहरू समेत घाइते भएको भन्दै उनले सो घटनाको छानबिन गर्न समेत माग गरे। उनले बोलेपछि भने अवरोध हटेर संसद् नियमित प्रक्रियामा प्रवेश गर्यो।
चैत १९, २०८२ बिहीबार १४:२७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।