आशा र चुनौतीको बिचमा दिव्या रायमाझी, ‘राम नाम सत्य’ले तय गर्ला त भविष्य?

आशा र चुनौतीको बिचमा दिव्या रायमाझी, ‘राम नाम सत्य’ले तय गर्ला त भविष्य?

काठमाडौं : नेपाली चलचित्र क्षेत्रका सदाबहार अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीको डेब्युलाई लिएर तीन वर्षअघि निकै चर्चा भयो।

आफ्नै बुबाले निर्माण गरेको ‘लक्का जवान’बाट पर्दामा देखिने हल्ला हल्लामै सीमित भए पनि दिव्याको इन्ट्रीलाई लिएर धेरै फिल्मकर्मी उत्साहित थिए। आकर्षक जिउडाल र स्पष्ट नेपाली बोलीका कारण उनी 'आशालाग्दो' अभिनेत्रीका रूपमा हेरिएकी थिइन्।

तर, दिव्याको फिल्मी यात्राको सुरुवात सोचेजस्तो सुखद भने हुन सकेन।

दिव्याले अभिनेता प्रदीप खड्कासँग फिल्म ‘एक्टर टेक वान’ मार्फत डेब्यु गरिन्। ठूलो तामझामका साथ निर्माण भएको यो फिल्म प्रदर्शनको मुखैमा शीर्षक विवादमा फस्यो। अर्को फिल्म ‘एक्टर’को टिमले अदालतमा उजुरी हालेपछि सुरु भएको लफडाका कारण फिल्मले बक्स अफिसमा  बलियो उपस्थिति जनाउन सकेन। 

त्यसपछि प्रदर्शनमा आएको अर्को फिल्म ‘पिताम्बर’ बाट पनि दिव्याको अभिनयले खासै चर्चा पाउन सकेन, जसले गर्दा उनको स्टारडममा प्रश्नचिह्न खडा भयो।

अहिले दिव्याको आशाको केन्द्रमा फिल्म ‘राम नाम सत्य’ छ, जुन यही चैत २७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ। यद्यपि, निर्माण पक्षले फिल्मको प्रमोसनमा खासै उत्साह नदेखाउँदा व्यापार कस्तो होला भन्ने अन्योल कायमै छ। फिल्मका दुई गीतले भने चर्चा बटुलेका छन्। 

दिव्याको करियरका लागि यो फिल्म एउटा ठूलो परीक्षा हुने देखिन्छ। 

फिल्म रिलिजको पर्खाइमा रहँदा दिव्या यतिबेला संगीतकार अर्जुन पोखरेलको निर्माण/निर्देशनमा बनिरहेको फिल्म ‘बेहुली’ को छायाङ्कनमा व्यस्त छिन्। यस फिल्ममा उनी ‘होस्टल ३’ का अभिनेता तथा चर्चित टिकटक स्टार पारस बम ठकुरीको जोडीका रूपमा देखिनेछिन्। 

दिव्या रायमाझीका लागि चैत २७ गते प्रदर्शन हुने ‘राम नाम सत्य’ करियरको 'टर्निङ प्वाइन्ट' बन्न सक्छ। बुबा दिलीप रायमाझीको बिरासतलाई काँधमा बोकेर डेब्यु गरेकी दिव्याले यस फिल्ममार्फत आफूलाई एक परिपक्व कलाकारका रूपमा स्थापित गर्छिन् वा औसत अभिनयमै सीमित रहन्छिन्, त्यो भने फिल्म रिलिजपछि नै प्रष्ट हुनेछ

१० दिनपछि प्रदर्शन हुने ‘राम नाम सत्य’ ​​​​​​मा ​दिव्याको अभिनय 'डमी' शैलीको मात्र रहन्छ वा आफ्नो अभिनयबाट बुवा दिलीप रायमाझीको बिरासत थाम्ने सामर्थ्य राख्छिन्, त्यसको लागि भने ‘राम नाम सत्य’को प्रदर्शन कुर्नै पर्ने हुन्छ।

चैत १९, २०८२ बिहीबार १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।