‘माया भनेको यस्तो होला’बाट सृष्टिलाई 'कमजोर अभिनेत्री' को ट्याग हटाउने मौका
काटठमाडौं : नेपाली चलचित्र क्षेत्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको सम्बन्धको चर्चा भइरहने गर्छ।
उनीहरूको 'रियल लाइफ' केमेस्ट्रीलाई पर्दामा उतार्न निर्माता-निर्देशकहरूले निकै रुचि देखाए पनि व्यावसायिक रूपमा भने यो जोडीले सोचेजस्तो जादु देखाउन सकेको छैन। आधा दर्जनभन्दा बढी फिल्ममा सहकार्य गरिसकेका यी दुईको जोडीले बक्स अफिसमा बलियो उपस्थिति जनाउन सकेन।
पछिल्लो समय सौगात नभएका फिल्ममा सृष्टिको अभिनय सशक्त देखिन थालेपछि सिने वृत्तमा नयाँ बहस सुरु भएको छ-के सौगातको भारी व्यक्तित्वले सृष्टिको वास्तविक अभिनय क्षमतालाई छायाँमा पारिरहेको छ?
सृष्टि र सौगातले अहिलेसम्म आधा दर्जनभन्दा बढी चलचित्रमा स्क्रिन शेयर गरिसकेका छन्। तर, यी दुईको जोडीले बक्स अफिसमा बलियो उपस्थिति जनाउन सकेको छैन।
हालै प्रदर्शनमा आएका ‘माइकल अधिकारी’ र ‘भाइरल गोर्खे’ यसका ताजा उदाहरण हुन्। यी चलचित्रमा न सौगातको क्रेजले काम गर्यो, न सृष्टिको अभिनयको नै तारिफ भयो। बरु, सृष्टिको अभिनय सौगातको बलमा मात्र टिकेको हो कि भन्ने चर्चाले उनको व्यक्तिगत क्षमतालाई सधैँ ओझेलमा पारिरह्यो।
समीक्षकहरूका अनुसार, सौगात मल्ल जस्तो ‘मेथड एक्टर’ सँग काम गर्दा सृष्टिको अभिनय उनको भारी व्यक्तित्वको ओझेलमा पर्ने गरेको छ। कतिपयले त सौगातले निर्माताहरूलाई सृष्टिलाई लिन दबाब दिने गरेको हल्ला समेत गर्ने गरेका छन्।
सृष्टिको अभिनय क्षमतामाथि प्रश्न उठिरहेका बेला सौगात बिनाको फिल्म ‘द ब्लु लाइट’ ले नयाँ मोड ल्याइदियो। नेगेटिभ भूमिकामा देखिएकी सृष्टिको कामले फिल्मभरिकै कलाकारलाई छायाँमा पारिदियो। फिल्मकी मुख्य कलाकार तथा निर्माता बेनिशा हमालभन्दा बढी सृष्टिको अभिनयको चर्चा चुलियो।
यद्यपि, कमजोर प्रचारप्रसार र राजनीतिक अस्थिरताका कारण फिल्म दुई दिनमै हलबाट उत्रियो। तर, यो फिल्मले एउटा कुरा भने प्रमाणित गरिदियो, सृष्टि सौगात बिना पनि सशक्त अभिनय गर्न सक्छिन्।
सृष्टि यतिबेला नयाँ चलचित्र ‘माया भनेको यस्तो होला’ को छायांकनमा व्यस्त छिन्। यस फिल्ममा उनले दिल श्रेष्ठसँग स्क्रिन शेयर गर्दैछिन् भने अर्की चर्चित अभिनेत्री नीति शाह पनि मुख्य भूमिकामा छिन्।
यदि यो फिल्ममा उनले परिपक्व अभिनय गरिन् भने, उनीमाथि लाग्दै आएको 'कमजोर अभिनेत्री' को ट्याग हट्नेछ। यो फिल्मले सृष्टिको वास्तविक अभिनय क्षमता र बक्स अफिस भ्यालुको फैसला गर्नेछ।
चैत १९, २०८२ बिहीबार ११:४०:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।