‘छ महिनादेखि शिक्षक र कर्मचारीले तलब पाएनन्, व्यवस्थापन समिति बनाउन पनि विवाद’
नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिका-५ कल्लेरीडाँडास्थित शंखादेवी माध्यमिक विद्यालयका शिक्षक र कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन्।
विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको र लेखापालको पद रिक्त रहेको कारण उनीहरूको कात्तिक महिनादेखिको तलब रोकिएको हो।
एक शिक्षकका अनुसार उनीहरूले अन्तिम पटक असोज महिनाको तलब र दशैं भत्ता बुझेका थिए। अहिले शैक्षिक सत्र सकिएर नतिजा निकाल्ने बेला भइसक्दा पनि तलब नपाउँदा शिक्षकहरूलाई दैनिक गुजारा चलाउनै मुस्किल परेको छ।
यस विषयमा प्रधानाध्यापक राजाराम अधिकारीलाई पटक-पटक जानकारी गराउँदा पनि उनले कुनै चासो नदिएको शिक्षकहरूको गुनासो छ।
विद्यालयका सूचना अधिकारी रामकुमार अधिकारीका अनुसार, अभिभावकहरूबीच राजनीतिक कुरा नमिल्दा व्यवस्थापन समिति बन्न सकेको छैन। समिति नभएकै कारण गत वर्षको फागुनमै राजीनामा दिएका पुरानो लेखापालको राजीनामा स्वीकृत हुन र नयाँ लेखापाल नियुक्त हुन सकेको छैन।
लेखापाल नभएपछि तलब खुवाउने प्रक्रिया रोकिएको हो। यसअघि प्रधानाध्यापकले साउनसम्म पुरानै तरिकाले र दशैंमा पालिकाको विशेष पहलमा दुई जना शिक्षकको हस्ताक्षर गराएर तलब खुवाएका थिए। तर, त्यसयता कसैले तलब पाएका छैनन्।
अभिभावक भेलामा प्रधानाध्यापकको मनपरी
नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न बिहीबार अभिभावक भेला बोलाइएको छ। तर, उक्त भेलामा प्रधानाध्यापक अधिकारीले भर्खरै एसईई परीक्षा दिएका विद्यार्थीका अभिभावकलाई भने बोलाएका छैनन्।
प्रधानाध्यापकले 'एसईई परीक्षामा सहभागी भएपछि विद्यार्थी र अभिभावकको विद्यालयसँग सम्बन्ध रहँदैन' भन्दै गाउँपालिकाको कार्यविधिलाई आधार मानेर उनीहरूलाई रोकेका हुन्।
तर, कानुनअनुसार प्रधानाध्यापकको यो कदम गलत देखिएको छ। पालिकाको कार्यविधिमै यदि विद्यालयमा कक्षा ११ र १२ पनि सञ्चालित छ भने भर्ना अवधि नसकिएसम्म ती अभिभावक मान्य हुने व्यवस्था छ।
एसईई दिएर नतिजा पर्खिरहेका विद्यार्थीले विद्यालयबाट चारित्रिक प्रमाणपत्र (क्यारेक्टर सर्टिफिकेट) वा स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) नलिएसम्म उनीहरूको नाम विद्यालयको अभिलेखबाट नहट्ने शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला बताउँछन्।
उनी भन्छन्, ‘एसईई दिन थालेपछि कसैले ती विद्यार्थी र तिनका अभिभावकको विद्यालयसँग कुनै सम्बन्ध छैन भन्छ भने त्यो सरासर कानुनी विपरीत हो,’ उनले भने, ‘एसईईमा फेल भयो भने त त्यही विद्यालयमा पढ्न आउने भयो त्यो विद्यार्थी अनि कसरी उ विद्यालयबाट अलग भयो? यस्ता वाहियात र ऐनविपरीतको कार्यविधि स्वतः खारेज हुन्छन्।’
प्रधानाध्यापकविरुद्ध किर्ते हस्ताक्षरमा अख्तियारमा उजुरी
विद्यालयका प्रधानाध्यापक अधिकारीले हिमालयन बैंकमा रहेको विद्यालयको खाताबाट किर्ते हस्ताक्षर गरी ६३ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेको भन्दै गत साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
२०८१ चैत अन्तिमदेखि असार अन्तिमसम्म तीन महिनाको अवधिमा आफ्नो नाममा समेत ३१ लाखभन्दा बढी रकमको चेक काटेको खुलेपछि उनीविरुद्ध उजुरी परेको थियो। उजुरीको अनुसन्धान अझै जारी रहेको आयोगले जनाएको छ।
विद्यालयको खाताबाट उनले चैत ३१ गते प्रधानाध्यापक अधिकारीको नाममा ६ लाख रुपैयाँको चेक काटिएकोमा असार २४ गते उनै प्रधानाध्यापक अधिकारीको ज्योति विकास बैंकको खातामा २५ लाख ३६ हजार नौ सय ५५ रुपैयाँ गरी कुल ३१ लाख ३६ हजार नौ सय ५५ रुपैयाँ जम्मा भएको थियो।
तारकेश्वरमा रहेको हिमालयन बैंकमा रहेको खातामा प्रधानाध्यापक अधिकारी र विद्यालयकी पूर्वलेखापाल अनिता तामाङको हस्ताक्षर चल्छ। तामाङले २०८१ फागुन १ गते नै विद्यालयको लेखापाल पदबाट राजीनामा दिए पनि असार मसान्तसम्म काटिएका चेकमा उनको हस्ताक्षर छ।
विद्यालयका प्रधानाध्यापक अधिकारीले चेकमा आफ्नो कीर्ते हस्ताक्षर गरेर आर्थिक कारोबार गरिरहेको पूर्व लेखापाल तामाङको आरोप छ। अध्ययनका लागि हाल बेलायतमा रहेकी उनले सामाजिक सञ्जालमार्फत आफू पदमा नरहेको अवस्थामा भएका कुनै पनि आर्थिक गतिविधिको जिम्मेवारी नहुने बताएकी थिइन्।
तर, यता प्रधानाध्यापक अधिकारीले भने तामाङले राजीनामा दिएको मितिभन्दा पछि पनि हिमालयन बैंकको नौ वटा चेकबाट आर्थिक कारोबार गरेको देखिएको थियो। लेखापालले राजीनामा दिएको पाँच महिना बितिसक्दा पनि विद्यालयको बैंक खाता अहिलेसम्म उनको नाम र हस्ताक्षर बदलिएको थिएन।
तामाङको राजीनामा स्वीकृत गर्न र नयाँ लेखापाल नियुक्त गरी विद्यालयको खाता सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिको बैठक बस्नुपर्ने हुन्छ। तर, गत २०८१ पुसमा तत्कालीन विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएपछि नयाँ समिति गठन हुन सकेको छैन।
साउन २०८२ देखि असोजसम्मको तलब र दशैंको भत्ता भने गाउँपालिकाले बैंकलाई पत्र लेखेर राख्न लगाएको थियो। तर त्यसयता शिक्षक र कर्मचारीले तलब पाएका छैनन्।
सम्बन्धित समाचार:
चैत १८, २०८२ बुधबार २१:२९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।