‘मितज्यू’ को ‘गैराघरे काँइली’ लाई दर्शकको साथ

‘मितज्यू’ को ‘गैराघरे काँइली’ लाई दर्शकको साथ

काठमाडौं : आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’ को लोकलयको गीत ‘गैराघरे काँइली’ डिजिटल प्लेटफर्ममा निकै लोकप्रिय बनेको छ।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको यो गीतले रिलिज भएको छोटो समयमै दर्शकको साथ पाएको हो।

भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगर फिचर छन्। सौगात र तेरियाले आकर्षक नृत्य गरेका छन् भने भने दयाहाङलाई अभिनय गराइएको छ।

श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वरमा रहेको यस गीतको शब्द र संगीत पनि गायक मल्लकै रहेको छ। मिङ्मा डि लेप्चाको कोरियोग्राफी र गाउँले परिवेशको कथालाई दर्शकले रुचाउनेमा निर्माण पक्ष विश्वस्त छ। 

जनक घर्ती मगरले निर्माण गरेको फिल्म‘मितज्यू’लाई निर्देशक अनिल बुढा मगरले निर्देशन गरेका हुन्। यही फिल्मबाट डान्स इन्डिया डान्स विजेता तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन्।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। 

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मलाई शिशिर विशंखेले खिचेका हुन् भने लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।

फिल्मको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ। फिल्मका गीतमा संगीत श्रीकृष्ण बम मल्लले दिएका छन् भने फिल्मका गीतमा संगीतकार मल्ल, मेलिना राई र लक्ष्मी मल्लले गाएका छन्। 

आरआर फिल्म्स वितरक रहेको यो फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

चैत १८, २०८२ बुधबार १३:०७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।