भारतमा मिर्गौला बेचेकाले १० लाख नपाएपछि तस्करीको पर्दाफास, नेपालसम्म सञ्जाल फैलिएको खुलासा
एजेन्सी : भारतको कानपुरमा गरिब र निमुखा युवाहरूलाई पैसाको प्रलोभन देखाएर मिर्गौला (किड्नी) झिक्ने एउटा ठूलो गिरोहको पर्दाफास भएको छ।
भारतीय प्रहरीको अनुसन्धानबाट यो मानव अङ्ग तस्करी गिरोहको सञ्जाल भारतका प्रमुख सहरहरू हुँदै नेपालसम्म फैलिएको गम्भीर तथ्य बाहिर आएको छ।
प्रहरीको विशेष कार्यदलले गरेको प्रारम्भिक अनुसन्धानअनुसार यो अवैध कारोबार कानपुर वा उत्तर प्रदेशमा मात्र सीमित थिएन। यसको तार लखनउ, दिल्ली, मुम्बई र कोलकाता हुँदै छिमेकी देश नेपालसम्म जोडिएको पुष्टि भएको छ।
नेपालबाट पनि मिर्गौलाका बिरामी खोज्ने वा आर्थिक रूपमा कमजोर व्यक्तिलाई डोनरका रूपमा प्रयोग गर्ने काममा यो गिरोह सक्रिय रहेको अनुसन्धानबाट देखिएको छ।
यसरी खुल्यो पोल
मार्च ३० को मध्यरात जब बिहारका आयुष नामका एक युवकले आफूले पाउनुपर्ने पैसा नपाएको भन्दै प्रहरीलाई फोन गरेपछि घटना बाहिर आएको हो। टेलिग्राम एप र बिचौलियामार्फत सम्पर्कमा पुगेका उनलाई मिर्गौला दिएबापत १० लाख भारु दिने वाचा गरिएको थियो।
कानपुरको आहुजा अस्पतालमा शल्यक्रिया गरेर उनको मिर्गौला निकालियो। तर, अपरेसनपछि उनलाई सहमतिभन्दा निकै कम पैसा दिइयो। ठगिएको महसुस गरेपछि उनले प्रहरीलाई गरेको त्यही एउटा फोन कल यो सङ्गठित अपराधको जरा उखेल्ने मुख्य हतियार बन्यो।
यो गिरोहले निकै सुनियोजित तरिकाले काम गर्थ्यो। गरिब युवालाई ८ देखि १० लाख दिने प्रलोभन देखाएर फसाइन्थ्यो भने मिर्गौला लिने धनाढ्य बिरामीबाट ६० देखि ८० लाख भारुसम्म असुलिन्थ्यो।
कानुनबाट बच्न उनीहरूले डोनर र रिसिभरबीच नक्कली नाता प्रमाणित गर्ने फर्जी कागजात बनाउँथे। शल्यक्रियापछि शङ्का नहोस् भनेर डोनर र बिरामीलाई छुट्टाछुट्टै अस्पतालमा भर्ना गरिन्थ्यो। दिल्ली र लखनउबाट डाक्टरहरूको टोली बोलाएर अपरेसन गराइन्थ्यो।
सूचना पाएलगत्तै प्रहरीले कानपुरका आहुजा, प्रिया र मेडलाइफ अस्पतालमा एकैसाथ छापा मारेको थियो। ती अस्पतालमा मिर्गौला प्रत्यारोपणको कुनै पनि आधिकारिक वा वैध कागजात भेटिएन।
हाल यस प्रकरणमा प्रहरीले शल्यक्रियामा संलग्न डाक्टर दम्पतीसहित थुप्रै बिचौलियालाई पक्राउ गरेको छ। एसटीएफको टोलीले विभिन्न सहरमा छापा मारिरहेको छ भने संलग्न अस्पतालहरूको लाइसेन्स खारेज गर्ने प्रक्रिया सुरु गरिएको छ।
चैत १८, २०८२ बुधबार १२:४५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।