‘तपाईंविरुद्ध उजुरी परेको त छैन?’ भन्दै प्रहरीले बनायो ‘अप्रिल फूल’
काठमाडौं : अप्रिल फूलको अवसर पारेर नेपाल प्रहरीले सर्वसाधारणलाई साइबर सुरक्षासम्बन्धी सचेतनाको पाठ सिकाएको छ। प्रहरीले सर्वसाधारणलाई प्रविधिको प्रयोग गर्दा कति सचेत हुनुपर्छ भन्ने व्यावहारिक सन्देश दिएको हो।
बुधबार नेपाल प्रहरीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गर्यो। जसमा हतकडी लगाएको पृष्ठभूमि र प्रहरीको लोगो राखिएको थियो।
तस्बिरमा ठूला अक्षरले लेखिएको थियो- ‘तपाईं विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन? सुनिश्चित गर्नको लागि एक पटक QR Code Scan गर्नुहोस्।’
कतै मेरो नाममा पनि उजुरी पो परेको छ कि भन्ने डर र उत्सुकताले धेरैले हतार-हतार उक्त क्युआर (QR) कोड स्क्यान गरे। तर, जब सर्वसाधारणले उक्त कोड स्क्यान गरे, उनीहरूले आफ्नो विरुद्धको उजुरी होइन, एउटा जोकरको अनुहार र ‘APRIL FOOL’ लेखिएको सन्देश भेटे।
खासमा प्रहरीले सर्वसाधारणलाई क्युआर कोडमार्फत हुने ठगीबारे सचेत गराउन यो तरिका अपनाएको थियो। स्क्यान गरेपछि खुल्ने सन्देशमा प्रहरीले लेखेको छ, ‘तपाईंले स्क्यान गर्नुभएको QR Code सचेतना अभियानको लागि हो। आज हामीले मजाक गरेका थियौँ... तर भोलि यस्तै QR बाट तपाईं SCAM मा पनि पर्न सक्नुहुन्छ।’

पछिल्लो समय प्रविधिको विकाससँगै क्युआर कोडमार्फत बैंक खाता खाली गरिदिने, मोबाइल ह्याक गर्ने वा व्यक्तिगत विवरण चोर्ने (फिसिङ) गिरोह सक्रिय छन्। पुरस्कार परेको, चिठ्ठा परेको वा प्रहरीकै नाममा नक्कली धम्कीपूर्ण सन्देश पठाएर ठगहरूले क्युआर स्क्यान गर्न लगाउने गरेका छन्।
यही जोखिमलाई मध्यनजर गर्दै प्रहरीले रमाइलो शैलीमा गम्भीर सुझाव दिएको छ। प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्युआर कोड कहिल्यै स्क्यान नगर्न अनुरोध गरेको छ।
‘आफू सँगै आफ्नो परिवारका सदस्यहरूलाई पनि यसबारे सम्झाउनुहोस्। स्क्यान गर्नुअघि सधैँ भेरिफाइ (यकिन) गर्नुहोस्, सचेत हुनुहोस्, सुरक्षित रहनुहोस्’, प्रहरीले आफ्नो सन्देशमा भनेको छ।
नेपाल प्रहरीले ‘अप्रिल फूल’ को मेसो पारेर आम नागरिकलाई साइबर ठगीबाट बच्न दिएको यो सिर्जनात्मक सन्देशको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।
चैत १८, २०८२ बुधबार १२:२८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।