इनिसा मृत्यु प्रकरण : पुर्पक्षका लागि सुधार गृह पठाइएका एक आरोपीलाई एसईई दिने व्यवस्था मिलाउन आदेश
सुर्खेत : वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको मृत्यु प्रकरणमा जोडिएका चार जना आरोपित बालकहरूलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि बाल सुधार गृह पठाउने आदेश दियो।
सँगै, अदालतले आरोपीमध्ये एक बालकलाई हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने व्यवस्था मिलाउनसमेत आदेश जारी गरेको छ। मंगलबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको बाल इजलासले उक्त आदेश दिएको हो।
अदालतको आदेशको बुँदा नम्बर १२ मा कानुनको विवादमा परेका बालक ‘वीरेन्द्रनगर फ’ (परिवर्तित नाम) कक्षा १० मा अध्ययनरत रहेको र चैत १९ गतेदेखि सञ्चालन हुने एसईई परीक्षामा समावेश हुने वातावरण मिलाइपाऊँ भनी प्रवेशपत्रसमेत पेस गरेको उल्लेख छ।
बालकको शिक्षाको अधिकारलाई मध्यनजर गर्दै अदालतले ती बालकको परीक्षा व्यवस्थापनका लागि बाल सुधार गृहलाई लेखी पठाउने आदेश दिएको छ।
जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलका अनुसार चारै जना बालकविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दर्ता भएको थियो।
‘घटनाको गम्भीरता र प्राप्त प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म चारै जनालाई बाल सुधार गृहमै राखेर मुद्दा अघि बढाउने आदेश भएको छ’, सूचना अधिकारी रावलले भने।
पीडित परिवार र साक्षीलाई सुरक्षा दिन आदेश
अदालतले यस संवेदनशील घटनामा मृतकका परिवार र साक्षीको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ। आदेशको बुँदा नम्बर १३ मा मृतकका बाबु, आमा, परिवारका सदस्य र नेपाल सरकारका तर्फबाट प्रस्तुत गरिएका सरकारी साक्षीहरूको सुरक्षाको प्रत्याभूति दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई निर्देशन दिइएको छ।
अदालतले साक्षीहरूलाई अदालतमा बकपत्रका लागि ल्याउँदा र उनीहरूको बसोबास स्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन तथा पीडित पक्षलाई सुरक्षामा खलल पुर्याउने प्रयास गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई स्पष्ट आदेश दिएको छ।
के थियो घटना?
गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१ मा परिवारका साथ बस्दै आएकी इनिसा फागुन २३ गते शनिबार बिहान ६ बजे प्रयोगात्मक कक्षामा जाने भन्दै घरबाट निस्किएकी थिइन्। तर, बिहान साढे ९ बजेतिर उनी वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन्।
प्रहरीले उद्धार गरी प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनालगत्तै प्रहरीले सोही दिन एक जना १६ वर्षीय बालक र भोलिपल्ट १४, १५ र १६ वर्षका थप तीन जना बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा ‘एकल करणी’ भएको निष्कर्ष निकाल्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। यद्यपि, आइतबार जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा भने जिल्ला सरकारी वकिलको कार्यालयले ‘सामूहिक करणी र कर्तव्य ज्यान’ को दाबीसहित मुद्दा दायर गरेको छ।
२५ दिनदेखि उठेको छैन शव
घटना भएको २५ दिन बितिसक्दा पनि इनिसाको शव उठ्न सकेको छैन। उनको शव अझै पनि प्रदेश अस्पतालको शव गृहमा राखिएको छ। परिवारले दाहसंस्कारबारे अझै कुनै निर्णय लिन सकेको छैन।
यद्यपि, मंगलबार अदालतबाट आएको आदेशपछि मृतककी आमा तिला विकले न्यायको आश पलाएको बताएकी छन्। अदालतको आदेशप्रति सम्मान व्यक्त गर्दै उनले आगामी दिनमा पनि सत्य, तथ्य र निष्पक्ष न्याय प्राप्त हुनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएकी छन्।
सोमबारदेखि चलेको थुनछेक बहसमा मङ्गलवार राति साढे आठ बजेसम्म पनि पीडित पक्षका आफन्तहरू न्यायको माग गर्दै अदालतको गेटमा धर्ना बसेका थिए।
चैत १८, २०८२ बुधबार ०९:४०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।