जेनजी आन्दोलनमा दमन गरेको आरोपमा काठमाडौंका तत्कालीन सिडिओ पक्राउ
काठमाडौं : जेनजी आन्दोलनमा दमन र प्रदर्शनकारीको ज्यान जाने गरी गोली चलाउन आदेश दिएको आरोपमा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाल पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरेको हो। कार्यालयका एसएसपी सन्तोष खड्काले रिजाललाई पक्राउ गरिएको पुष्टि गरे। अब जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ।
गत भदौ २३ र २४ गते बानेश्वरमा भएको जेनजी प्रदर्शनका क्रममा किशोरहरूको ज्यान जाने गरी गोली चलेको थियो।
सो घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन सिडिओ रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो। यद्यपि, रिजालले भने आयोगसमक्ष आफूले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नदिएको बयान दिएका थिए।
प्रहरीका अनुसार, आयोगको सिफारिसका आधारमा उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १८२ बमोजिम ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुर’मा अनुसन्धान अघि बढाइएको छ। यस कसुरमा दोषी ठहर भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
कार्की आयोगकै प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक गत शनिबार नै पक्राउ परिसकेका छन्।
अख्तियारको पनि अनुसन्धान घेरामा
तत्कालीन गृहमन्त्री लेखकनिकट मानिने रिजाल जेनजी आन्दोलनमा दमन गरेको आरोप लागेपछि एक महिना नपुग्दै काठमाडौंको सिडिओबाट हटाइएका थिए।
सिडिओ हुनुअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा समेत छुट्टै अनुसन्धान गरिरहेको छ।
कर्मचारीहरूलाई अध्यागमनलगायतका आकर्षक कार्यालयमा सरुवा गर्दा पदीय आचरणविपरीत काम गरेको र आर्थिक लेनदेन गरेको उनीमाथि आरोप छ।
अख्तियारले विशेष अदालतमा पठाएको विवरणअनुसार, तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्री तिवारी र स्वकीय सचिव जनक भट्टसँगको ‘सेटिङ’ तथा गृहसचिव गोकर्णमणि दुवाडी एवं अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसँगको अस्वाभाविक गतिविधिबारे पनि रिजालमाथि छानबिन भइरहेको छ।
जफत गरिएका डायरी र अन्य विवरणमा नाम जोडिएका आधारमा अख्तियारले अनुसन्धान गरिरहेको जनाइएको छ।
चैत १७, २०८२ मंगलबार ०८:५०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।