रुसको प्रमुख तेल निर्यात आधारहरूमा युक्रेनको आक्रमण, निर्यात प्रभावित

रुसको प्रमुख तेल निर्यात आधारहरूमा युक्रेनको आक्रमण, निर्यात प्रभावित

एजेन्सी : रुस र युक्रेनबीचको युद्ध जारी रहँदा गत साता युक्रेनले बाल्टिक सागरनजिक रहेका रुसका प्रमुख तेल निर्यात केन्द्रहरूमा शृङ्खलाबद्ध आक्रमण गरेको छ। यी आक्रमणपछि केही स्थानमा कैयौँ दिनसम्म भीषण आगलागी भएको थियो।

‘बीबीसी भेरिफाइ’ले गरेको पुष्टिअनुसार, मार्च २३ यता रुसको लेनिनग्राद क्षेत्रस्थित सेन्ट पिटर्सबर्ग सहरनजिकका कम्तीमा तीनवटा तेल केन्द्रमा आक्रमण भएका छन्। यो क्षेत्र युक्रेनी सीमाबाट करिब ८०० किलोमिटरको दूरीमा पर्छ।

यस क्रममा बाल्टिक सागरका महत्त्वपूर्ण बन्दरगाहहरू उस्त-लुगा र प्रिमोर्स्कमा छुट्टाछुट्टै हमला भएका हुन्। यसका साथै, नजिकै रहेको किरिसी तेल प्रशोधन केन्द्र (रिफाइनरी) लाई पनि निशाना बनाइएको छ।

फिनल्यान्डस्थित ‘सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर’को तथ्यांकअनुसार, सन् २०२५ मा रुसको कुल तेल निर्यातमध्ये २२ प्रतिशत प्रिमोर्स्क र २० प्रतिशत उस्त-लुगा बन्दरगाहबाट भएको थियो।

पछिल्ला तथ्यांकहरूले देखाएअनुसार, मार्च २६ र २७ मा रुसका यी तीनवटै बाल्टिक बन्दरगाहबाट कुनै पनि पानीजहाजमा तेल लोड गरिएको छैन। जसका कारण रुसी तेल निर्यात प्रभावित भएको अनुमान गरिएको छ।

प्राप्त स्याटेलाइट तस्बिरहरूमा मार्च २४ का दिन प्रिमोर्स्कका तेल केन्द्रहरूमा आगलागी भई बाक्लो धुवाँको मुस्लो उडिरहेको देखिन्छ। त्यसैगरी, मार्च २७ मा उस्त-लुगामा दन्किएको आगो र किरिसी प्रशोधन केन्द्रमा पुगेको व्यापक क्षति तस्बिरमा प्रस्ट देख्न सकिन्छ।

चैत १७, २०८२ मंगलबार ०८:०४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।