अनलाइन जुवा र सट्टेबाजीको विज्ञापन सामग्रीमाथि पूर्ण रोक, अटेर गरे कारबाही
काठमाडौं : सरकारले अनलाइन जुवा खेलाउने एपहरूमाथि प्रतिबन्ध लगाएपछि विज्ञापन नियमनकारी निकाय विज्ञापन बोर्डले जुवा तथा सट्टेबाजी (बेटिङ) सँग सम्बन्धित सामग्रीको विज्ञापन नगर्न सचेत गराएको छ।
बोर्डले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रचलित कानुन विपरीत जुवा र सट्टेबाजीलाई प्रोत्साहन गर्ने कुनै पनि प्रकारका विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन नगर्न भनेको हो।
बोर्डले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ र मुलुकी अपराध संहिता, २०७४ को कानुनी प्रावधान स्मरण गराउँदै यस्ता गतिविधि निषेधित रहेको स्पष्ट पारेको छ। विज्ञापन (नियमन गर्ने) ऐनको दफा ५ मा जुवा खेल्न वा प्रचलित कानुनबमोजिम अनुमति नलिएको चिट्ठा किन्न प्रोत्साहन गर्ने विषयमा विज्ञापन गर्न नहुने व्यवस्था छ। त्यस्तै, मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ले जुवा खेल्नु वा खेलाउनुलाई अपराध मानेको छ।
विज्ञप्तिमा भनिएको छ, “...मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (१) मा जुवा खेल्नु वा खेलाउनु नहुने व्यवस्था गरी नेपालमा जुवा, बेटिङ सम्बन्धी कुनै पनि किसिमको विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन निषेध गरिएको छ। साथै, उल्लेखित कानुनी व्यवस्था कार्यान्वयनका लागि अनलाइन जुवा, सट्टाबाजी नगर्न/नगराउन भनी बोर्डबाट मिति २०८२/०५/१३ मा विज्ञप्तिसमेत जारी गरिएको छ।”
बोर्डले कसैले कानुन विपरीतका यस्ता विज्ञापन गरेको पाइएमा बोर्डमा उजुरी दिन समेत आग्रह गरेको छ।उकेराले पहिलो र दोस्रो सिजनको नेपाल प्रिमियर लिगमा समाचार दिने बाहनामा जुवा खेलाउने कम्पनीको विषयमा बारम्बार बोर्डलाई सूचित गर्दा समेत पत्र आदानप्रदानमै दुई वर्ष बिताएको बोर्डले उजुरी गरेर सहयोग गर्न पत्रमा उल्लेख गरेको छ।
उसले पत्रमा लेखेको छ, “सञ्चारमाध्यम, सामाजिक सञ्जाल पेज, वेबसाइट वा व्यक्ति/संस्थाले अनलाइन जुवा, बेटिङ लगायतका प्रचलित कानुनले निषेध गरेका विज्ञापनहरू प्रकाशन, प्रसारण र प्रदर्शन नगर्न/नगराउन तथा त्यस प्रकारका विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन भएको भए तत्काल बन्द गर्न/गराउन सम्पूर्ण सरोकारवालालाई अनुरोध छ।”
चैत १६, २०८२ सोमबार २१:०६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।