सन नेपाल लाइफका सिइओ अर्याल पक्राउ
काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल पक्राउ परेका छन्। धितोपत्र सम्बन्धी ऐन, २०६३ विपरीतको कसुर गरेको अभियोगमा प्रहरीले उनलाई सोमबार काठमाडौंको न्यूप्लाजा, पुतलीसडकबाट नियन्त्रणमा लिएको हो।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा ५१ वर्षीय अर्याललाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।
अर्यालमाथि कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको सेयर बाँडफाँटको क्रममा अनियमितता गरेको आरोप छ। नियामक निकायले माग गरेको विवरण र कागजात पेश गर्दा कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र सोको प्रतिलिपिहरूमा फरक-फरक विवरण भेटिएपछि बोर्डले अनुसन्धान अघि बढाएको थियो।
फरक निकायमा फरक-फरक विवरण पेश गर्ने कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरीतको कसुर मानिन्छ। कर्मचारीको लागि आरक्षित गरिएको कम्पनीको सेयर आफ्नै नाममा ल्याएको आरोप उनीमाथि लागेको थियो।
गुल्मी दरबार गाउँपालिका-५ स्थायी ठेगाना भई हाल काठमाडौंको वनस्थली बस्दै आएका अर्यालमाथि अहिले थप कानुनी प्रक्रिया र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कर्मचारीको हकको सेयर हिनामिना गरेको विषयमा बोर्डको प्रतिवेदनले स्पष्ट आधार देखाएपछि प्रहरीले उक्त कदम चालेको हो।
चैत १६, २०८२ सोमबार १९:१४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।