एमाले नेता बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
काठमाडौं : एमाले सचिव महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार नेता बस्नेतलाई पक्राउ गर्न अनुमति माग गर्दै अदालतमा निवेदन दिएको थियो।
अदालतले उक्त विषय अहिले उच्च सरकारी वकिल कार्यालय र उच्च अदालतमा विचाराधीन रहेको जनाउँदै तत्काल पक्राउ अनुमति दिन आवश्यक नरहेको निर्णय गरेको हो।
बस्नेतविरुद्ध एक महिलाले जबरजस्ती करणी, भ्रूण हत्या र चोरी डाँकाको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। २०८० चैत २५ गते दर्ता भएको जाहेरीमाथि अनुसन्धान गर्दा प्रमाण नपुग्ने भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा तामेलीमा राख्ने निर्णय गरेको थियो।
सरकारी वकिलको उक्त निर्णयलाई सदर गर्ने वा नगर्ने भन्ने विषय अहिले उच्च सरकारी वकिल कार्यालय पाटनमा विचाराधीन छ। साथै, आफ्नो पूरक जाहेरीमा कारबाही नभएको भन्दै ती महिलाले उच्च अदालत पाटनमा रिट निवेदन समेत दायर गरेकी थिइन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार माथिल्लो निकायमा निर्णय प्रक्रियामा रहेकाले अदालतले अहिले पुर्जी जारी नगरेको हो। पीडित भनिएकी महिलाले आइतबार मात्रै परिसरमा पुनः जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरी अदालत पुगेको थियो।
चैत १६, २०८२ सोमबार १८:५१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।