संविधान संशोधनको बहसपत्र तयार पार्न असिम शाहको नेतृत्वमा कार्यदल
काठमाडौं : सरकारले संविधान संशोधनको बहस पत्र तयार गर्न सर्वदलीय कार्यदल गठन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिहरू रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री बालेनका राजनीतिक सल्लाहकार असिम शाहको अध्यक्षतामा कार्यदल गठन गरिने छ। शाह प्रतिनिधिसभाका पूर्व सांसद समेत हुन्।
प्रवक्ता पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचा पत्र अनुरूप संविधान संशोधनका लागि बहस पत्र तयार गर्न लागिएको जानकारी दिए।
"राजनीतिक सल्लाहकारको अध्यक्षतामा रहने कार्यदलमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधि रहनुहुन्छ," पोखरेलले भने, "राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहस पत्र तयार हुन्छ।" उनले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक हुने बताए।
यसैगरी, मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। असिम शाहलाई प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन्।
चैत १६, २०८२ सोमबार १८:३३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।