संविधान संशोधनको प्रक्रियामा संसद बाहिरबाट पनि जोडिन्छौं : खड्का

संविधान संशोधनको प्रक्रियामा संसद बाहिरबाट पनि जोडिन्छौं : खड्का

काठमाडौं : नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनको विषयलाई निष्कर्षमा पुर्याउन संसद भित्र र बाहिर दुवै ठाउँबाट सशक्त पहल लिइने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक भेलालाई सम्बोधन गर्दै उनले विगतमा संविधान संशोधनका प्रयासहरू सफल हुन नसकेको र अब भने स्पष्ट विचार, मूल्य-मान्यता र सिद्धान्तका आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिए। 

उनले संविधान संशोधन गर्दा नेपाली जनताको सार्वभौमसत्ता र अधिकारलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे। "संविधान संशोधनको कुराहरू अहिले अगाडि आउँदै छ। हामीले संशोधनको प्रयास गर्दा सकेनौं," उनले भने, "यसमा हाम्रो विचार मूल्य मान्यता र सिद्धान्तमा हाम्रो स्वाभिमान र संविधानको मूलभूत ऐन कानुन जुन नेपाली जनतालाई सार्वभौम बनाउन र अधिकार सम्पन्न बनाउने विषयमा केन्द्रित छन्।"

खड्काले अगाडि भने, "ती आधारभूत कुरामा हामीले सम्झौता नगरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउँदा संसद् भित्र र बाहिर रहेर यो अभियानमा जोडिने छौं।"

उनले संविधानका मूलभूत सिद्धान्तहरू नेपाली जनतालाई सार्वभौम र अधिकार सम्पन्न बनाउने प्रावधानहरू कुनै पनि अवस्थामा सम्झौता नगरी संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। उनले पार्टीको इतिहास, आदर्श र राष्ट्र तथा जनताको हितलाई केन्द्रमा राखेर संसदमा अभिव्यक्ति राख्न आग्रह गरे।

चैत १६, २०८२ सोमबार १७:५८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।