‘परालको आगो’को गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक

‘परालको आगो’को गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक

काठमाडौं : आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’मा समावेश ‘दुःख सुख जिन्दगानी’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा प्रकाश सपुत र शान्तीश्री परियारको स्वर रहेको छ।

प्रकाश सपुतकै शब्द र संगीत रहेको गीतको भिडियोमा सपुत र अभिनेत्री सुहाना थापा फिचर्ड छन्। ग्रामीण परिवेश, कृषि कर्म र मौलिक गाउँले जीवनलाई समेटिएको भिडियोको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्। 

संकल्प भुजेलको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा प्राकृतिक सौन्दर्य र जनजीवनका भोगाइलाई चित्रण गरिएको छ। गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ लगायतको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्सको ब्यानरमा सुशील पोखरेलले निर्माण गरेको यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन्। फिल्ममा शान्ति ठटाल, सत्य-स्वरुप आचार्य र प्रकाश सपुतको संगीत रहेको छ। नेपालभर आर आर फिल्मसले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

चैत १६, २०८२ सोमबार १६:३९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।