दीपक खरेलको पहिलो वृहत् अर्केस्ट्रासहितको एकल साँझ “इकोज अफ इटरनिटी” आयोजना हुने

दीपक खरेलको पहिलो वृहत् अर्केस्ट्रासहितको एकल साँझ “इकोज अफ इटरनिटी” आयोजना हुने

काठमाडौं : वरिष्ठ गायक दीपक खरेलको पहिलो वृहत् अर्केस्ट्रासहितको विशेष सांगीतिक कार्यक्रम “इकोज अफ इटरनिटी” आयोजना हुने भएको छ। चैत्र २७ गते शुक्रवार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना हुने भएको हो। 

दशकौँदेखि नेपाली श्रोताको मनमा बसेका खरेलका कालजयी गीतहरूलाई नयाँ उचाइ दिन आयोजक संस्था सुधाकर भ्वाइलिन स्कुलले यो भव्य समारोहको तयारी गरेको हो।

कार्यक्रममा गायक खरेलले आफ्ना चर्चित १७ वटा गीतहरू प्रस्तुत गर्नेछन्। जसमा ‘पूर्णिमाको रात पनि’, ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘प्रतीक्षा गर मेरी मायालु’, ‘बादल बनाइदेऊ’, र ‘बिहानीको सिरेटोमा’ जस्ता सदाबहार गीतहरू समावेश रहेको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रममा नर्वेका ४ जना कलाकारसहित कुल ५२ जना वाद्यवादहरूको अर्केस्ट्रा रहनेछ। साथै १६ जना युवा तथा बालबालिकाको कोरस प्रस्तुति समेत रहेको छ।

गायक खरेलले यस कार्यक्रममार्फत नेपाली सुगम संगीत प्रेमीहरूलाई एक अविस्मरणीय र फरक अनुभव दिन आफू उत्साहित रहेको बताएका छन्। अर्केस्ट्राको भव्यताले नेपाली गीत-सङ्गीतको मिठासलाई अन्तर्राष्ट्रिय स्तरको अनुभूति दिलाउने उनले बताए।

कार्यक्रमका परिकल्पनाकार सुधाकर वस्तीका अनुसार, यस कार्यक्रमको मुख्य उद्देश्य दीपक खरेलका कालजयी सिर्जनाहरूको संरक्षण गर्नु र ती गीतहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु हो।

"नेपाली संगीतप्रेमीका लागि एक ऐतिहासिक सांगीतिक अनुभव दिनका लागि वृहत् आर्केस्ट्रासहित यो कार्यक्रम आयोजन गर्न लागिएको हो," वस्तीले जानकारी दिए।

यस विशेष सांगीतिक साँझलाई काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र अन्नपूर्ण स्कुल अफ अर्केस्ट्राले सहयोगी संस्थाका रूपमा साथ दिएका छन्। 

चैत १६, २०८२ सोमबार १६:२२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।