भ्रष्टाचार नियन्त्रणका नाममा 'नोटबन्दी' गर्दैनौ : अर्थमन्त्री वाग्ले
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नोटबन्दी नहुने जनाएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा भारतले सन् २०१६ मा अपनाएको जस्तो नोटबन्दी नगर्न दिएको सुझावमा प्रतिक्रिया दिँदै उनले 'हामी त्यसो गर्ने छैनौँ!' लेखेका छन्।
'एयरलाइन गाइ' नामक प्रयोगकर्ताले भारतले गरेको नोटबन्दीको उदाहरण दिँदै नेपालमा त्यस्तो कदम नचाल्न सुझाव दिएका थिए।
ती प्रयोगकर्ताले वाग्लेलाई मेन्सन गर्दै लेखेका थिए, 'कृपया पपुलिस्ट (लोकप्रियतावादी) नाराको पछि लागेर सन् २०१६ मा भारतले गरे जस्तो नोटबन्दी नगर्नुहोला। यसले काम गर्दैन, बरु गरिबहरूलाई पीडा दिन्छ र राष्ट्रलाई ठूलो आर्थिक क्षति पुर्याउँछ। भ्रष्टहरूलाई कारबाही गर्ने यो भन्दा धेरै राम्रा उपायहरू छन्।'
सोही पोष्टको जवाफमा वाग्लेले नेपालले त्यस्तो नीति नअपनाउने बताएका हुन्।
सन् २०१६ मा भारत सरकारले ५०० र एक हजार दरका नोटमा बन्देज लगाएको थियो। कालोधन नियन्त्रणका लागि भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दीको घोषणा गरेका थिए। नोटबन्दी गरिएपछि भारत सरकारले गुलाबी रंगका २ हजार दरको नोट जारी गरेको थियो।
तर, उक्त कदमले सर्वसाधारणमा ठूलो सास्ती सिर्जना गरेको र भारतीय अर्थतन्त्रको वृद्धिदरमा समेत नकारात्मक असर पारेको भन्दै आलोचना भएको थियो।
चैत १६, २०८२ सोमबार १५:३१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।