ओली पक्राउको विरोधमा तेस्रो दिन पनि एमालेको प्रदर्शन (तस्बिरहरू)

ओली पक्राउको विरोधमा तेस्रो दिन पनि एमालेको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं : पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले सोमबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। गत शनिबार ओली पक्राउ परेदेखि एमालेले लगातार तेस्रो दिन प्रदर्शनलाई निरन्तरता दिएको हो।

पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले ओली र तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई शनिबार नियन्त्रणमा लिएको थियो। सोही कदमको विरोधमा एमालेका केन्द्रीय पदाधिकारीसहितका नेता-कार्यकर्ता सोमबार सडकमा उत्रिए।

माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। एमालेको झन्डासहित प्रदर्शनमा सहभागीहरूले ओली र लेखकको तत्काल रिहाइको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनमा सहभागीहरूले ‘प्रतिशोधको राजनीति अन्त्य गर’, ‘अध्यक्षलाई रिहाइ गर’ लगायतका नारा लगाएका छन्।

बानेश्वर पुगेर प्रहरी घेराभित्र आयोजित कोणसभालाई एमालेका पदाधिकारी तहका नेताहरूले सम्बोधन गर्दै सरकारको कदमप्रति आपत्ति जनाए। प्रदर्शनमा एमाले सचिव महेश बस्नेत भने देखिएनन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत आन्दोलनको मोर्चामा भेट भनेका उनी भौतिक रूपमा र्यालीमा उपस्थित भएनन्।

प्रदर्शन र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै माइतीघरदेखि बानेश्वर क्षेत्रसम्म ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। एमालेले आफ्ना अध्यक्षको रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। 

चैत १६, २०८२ सोमबार १५:२१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।