नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, १ अर्ब १० करोडमा सम्झौता
काठमाडौं : नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारको जिम्मा चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम ‘युसिन–एआरटी’ले पाएको छ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले सोमबार एक सूचना जारी गर्दै चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी ‘एआरटी कन्स्ट्रक्सन’ को जेभीलाई छनोट गरिएको जनाएको छ। यो कम्पनीले २.६५ किलोमिटर लामो सुरुङमार्गको आगामी ५ वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्नेछ।
युसिन-एआरटी जेभीले भ्याट र प्रोभिजलनल सहित कुल १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपैयाँमा ठेक्का पाएको हो। यो रकम सरकारी लागत अनुमानभन्दा करिब ४० प्रतिशत कम हो। सम्झौताअनुसार कम्पनीले वार्षिक औसत २२ करोड रुपैयाँमा सुरुङमार्गको सञ्चालन, प्राविधिक व्यवस्थापन र मर्मतसम्भारको काम गर्नुपर्नेछ।
आयोजनाले छनोट भएको कम्पनीलाई ठेक्का सम्झौताका लागि सात दिनभित्र सम्पर्क गर्न बोलाएको छ। सम्झौता भएपछि कम्पनीले सुरुङमार्गभित्रका उपकरणहरूको सञ्चालन, सुरक्षा व्यवस्थापन, ट्राफिक नियमन, र नियमित मर्मतसम्भारको जिम्मेवारी सम्हाल्नेछ।
चैत १६, २०८२ सोमबार १३:२४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।