रौतहटमा अवैध भारतीय कुखुरासहित बोलेरो गाडी नियन्त्रणमा
रौतहट : भारतबाट अवैध रूपमा चोर बाटो हुँदै भित्र्याइएको बोइलर कुखुरा लोड गरिएको एक गाडीलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहट कुखुरा व्यवसायी संघको विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गंगापिपराको टोलीले दुर्गा भगवती गाउँपालिका–३, मत्सरीस्थित गौर–गंगापिपरा सडक खण्डबाट उक्त गाडी नियन्त्रणमा लिएको हो।
सोमबार बिहान ६:४० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ५ च ३५६५ नम्बरको बोलेरो गाडीलाई प्रहरीले रोकेर खानतलासी गरेको थियो। उक्त गाडीमा ३५० वटा (करिब ७५० केजी) अवैध भारतीय बोइलर कुखुरा लोड गरिएको पाइएको छ।
प्रहरीले अनुसन्धानका क्रममा उक्त कुखुरा राजपुर नगरपालिका–५ स्थित मुस्कान पोल्ट्री फार्मबाट निकालेर गरुडा नगरपालिका–९ तर्फ लैजाँदै गरेको खुलेको छ। प्रहरीले गाडी चालक गरुडा नगरपालिका–९ का २६ वर्षीय अनवारुल हकलाई नियन्त्रणमा लिएको छ।
बरामद कुखुरा, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको इलाका प्रहरी कार्यालय गंगापिपराले जनाएको छ।
चैत १६, २०८२ सोमबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।