पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरण रिट क्रमश: पोखरेल र रेग्मीको इजलासमा
काठमाडौं : जेनजी आन्दोलनमा हेलेचेक्र्याइँ गरेर ज्यान मारेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतको दैनिक पेसी सूचीअनुसार अध्यक्ष ओलीको निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ। त्यसैगरी, पूर्वगृहमन्त्री लेखकको निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ।
पक्राउ परेका दुवै नेतालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनीहरूका पत्नीले सर्वोच्चमा रिट दायर गरेका थिए। ओलीको पक्षमा उनकी पत्नी राधिका शाक्य र लेखकको पक्षमा पत्नी यशोदा लेखकले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन्।
गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा प्रहरी दमन भएको भन्दै गठन गरिएको जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेपछि ओली र लेखक शनिबार पक्राउ परेका हुन्।
अध्यक्ष ओलीलाई शनिबार भक्तपुरको गुन्डुबाट पक्राउ गरिएको थियो। पक्राउ परेकै दिन स्वास्थ्यमा समस्या देखिएपछि उनी त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्जमा भर्ना भएका थिए। हाल उनी अस्पतालमा चिकित्सककै निगरानीमा उपचाररत रहेका छन्।
यसैबीच, आइतबार नै काठमाडौं जिल्ला अदालतले ओली र लेखक दुवै जनालाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिइसकेको छ। सर्वोच्चले आज दिने आदेशले उनीहरू थुनामै रहेर अनुसन्धानको सामना गर्ने वा रिहा हुने भन्ने तय गर्नेछ।
चैत १६, २०८२ सोमबार ११:५३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।