इनिसा प्रकरणमा प्रेमी भनिएका ‘प’को बयान- ‘...सास दिएँ, हत्केलाले पैताला मालिस गरेँ तर पनि उनलाई सञ्चो भएन’

इनिसा प्रकरणमा प्रेमी भनिएका ‘प’को बयान- ‘...सास दिएँ, हत्केलाले पैताला मालिस गरेँ तर पनि उनलाई सञ्चो भएन’

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर-४ स्थित जंगलमा बलात्कारपछि हत्या भएको इनिशा विकको घटनामा जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले मुलुकी अपराध संहिता, २०७४ बमोजिम ‘जबरजस्ती करणी गरी ज्यान मारेको’ (कर्तव्य ज्यान) कसुरमा चार जना नाबालक मुद्दा दायर गर्यो।

जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट खटिएको टोलीले अनुसन्धान सकेर जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएसँगै कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो।

घटनामा मुख्य अभियुक्त भनिएका इनिसाका प्रेमीले आफूहरूले सहमतिमै यौन सम्बन्ध राख्न लागेको बताए। सम्बन्ध राख्न लाग्दा एक्कासी अध्यधिक रगत बगेपछि उनी बेहोस् भएको उनले बयानमा भनेका छन्। १८ वर्षभन्दा कम उमेरको भएकाले प्रहरीले अनुसन्धानमा उनको नाम परिवर्तन गरी ‘बीरेन्द्रनगर प’ राखेको छ।

‘मैले उनलाई ललाईफकाई जबरजस्ती करणी गरी ज्यान मारेको होइन। हाम्रो पहिलेदेखि नै प्रेम सम्बन्ध थियो र त्यो दिन हामी दुवैको सहमतिमै शारीरिक सम्बन्ध भएको हो’, प्रेमी भनिएका ती किशोरले अनुसन्धान अधिकारीसमक्ष भने।

जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले अदालतमा पेस गरेको अभियोग पत्रमा उनको विस्तृत बयान समेटिएको छ। जसमा उनले घटना हुनुअघिको तयारीदेखि जंगलमा किशोरी बेहोस हुँदासम्मको प्रत्येक क्षणको बेलिबिस्तार लगाए।

प्रेम प्रस्तावदेखि कन्डम किन्नेसम्मको तयारी
ती किशोरको बयान अनुसार मृतक इनिसा र उनी करिब ४ वर्षदेखि उषा बालवाटिका बोर्डिङ स्कुलमा एउटै कक्षामा पढ्थे। उनीहरूको चिनजान पुरानै भए पनि २०८१ सालमा किशोरीले नै आफूलाई ‘माया गर्छु’ भनी प्रस्ताव राखेकी थिइन्। ‘मैले हुन्छ भनी स्वीकार गरेँ, त्यसपछि नम्बर साटासाट गरी ह्वाट्सएपमा कुरा हुँदै आयो’, उनले भनेका छन्।

घटना हुनुभन्दा ३/४ महिना अगाडि उनीहरू सुर्खेतको कपासे घुम्न गएका थिए, जहाँ किशोरीको सहमतिमा पहिलोपटक शारीरिक सम्बन्ध भएको किशोरको दाबी छ।

माघ महिनामा पुनः शारीरिक सम्बन्ध राख्नका लागि अस्थायी साधन आवश्यक परेकाले आफ्ना साथीलाई ४ सय रुपैयाँ दिएर ६ वटा कन्डम किन्न लगाएका थिए। तीमध्ये दुईवटा घरमै प्रयोग गरेको र बाँकी चारवटा झोलामा बोकेर हिँड्ने गरेको उनले बताएका छन्।

घटनाको अघिल्लो दिन: चुरा, गजिरा र घरमै बनाएको केक
फागुन २२ गते उनीहरूबीच ह्वाट्सएपमा कुरा भयो। बयानमा किशोरले भनेका छन्, ‘मृतकले मलाई भोलि भेटौँला, शारीरिक सम्बन्ध राखौँला, मलाई चुरा र गजिरा किनिदेऊ भनेकी थिइन्।’

इनिशाको आग्रहपछि किशोरले घरमै केरा, बिस्कुट र चकलेट मिक्स गरेर एउटा केक बनाए। साँझ वीरेन्द्रनगर बजार गएर किशोरीका लागि १ दर्जन रातो चुरा र टाउकोमा लगाउने गजिरा करिब ३/४ सय रुपैयाँमा किनेर झोलामा राखे।

फागुन २३ गते बिहान साढे ५ बजे  किशोरले इनिसाको माइलो बुवाको घर नजिकै पुगेर म्यासेज गरे। ‘उनी ६:०५ बजेतिर घर नजिकैको बाटोमा आइन्। हामी दुवै जनाले एकअर्काको हात समाती बिस्तारै कुरा गर्दै हिँड्यौँ’, उनले बयानमा भनेका छन्।

बाटोमा जाँदै गर्दा कहाँ गएर शारीरिक सम्बन्ध राख्ने भन्ने सल्लाह भयो। किशोरीले नै ‘जंगलमा गई राखौँला’ भनेपछि उनीहरू आयुर्वेद अस्पतालको अगाडिको बाटो हुँदै उकालो लागे।

जनजागरण सामुदायिक वनभित्रको एकान्तमा पुगेर उनीहरू गफिँदै बसे। ‘उनी थाकेको छु भन्दै मेरो काखमा पल्टिइन्। थकान मेटेपछि हामी तलतिर अर्को एकान्त ठाउँमा गयौँ’, उनले भने।

किशोरको बयान अनुसार उनले झोलाबाट नयाँ किनेर ल्याएको टिसर्ट निकालेर किशोरीलाई लगाइदिए। आफूले साथमा रहेको कन्डम लगाए।

बिहान अन्दाजी ८ बजेतिर किशोरीसँग सम्पर्क राखे। त्यही क्रममा अचानक उनको योनीबाट अत्यधिक मात्रामा रगत बाहिर आयो। रगत इनिसाको कपडा र किशोरको शरीरमा समेत लाग्यो।

‘घुँडा टेकेर उठ्ने क्रममा उनलाई रिङ्गटा लाग्यो र भुइँमा ढली बेहोस भइन्’, बयानमा भनिएको छ।

इनिसा बेहोस भएपछि किशोर निकै आत्तिए। उनले इनिसालाई ‘केही हुँदैन’ भन्दै सम्झाउने प्रयास गरे र तत्कालै आफ्ना साथीहरूलाई फोन गरेर ‘म र इनिसा जंगलमा छौँ, उनी बेहोस भइन्, सवारी लिएर आइज’ भने।

‘मैले उनको छातीमा थिचेर सास दिने प्रयास गरेँ। मुखबाट सास दिएँ, जुत्ता-मोजा खोली खुट्टामा मालिस गरेँ, तर उनलाई सञ्चो भएन, बोल्न छोडिन्’, किशोरले बयानमा भनेका छन्।

त्यति गर्दागर्दै साथीहरू आइपुगे। त्यसमध्ये एउटाले इनिसालाई उठाउन आग्रह गरे। तर, अन्य साथीहरूले मरिसकेको जस्तो मानेर छुन इन्कार गरे। त्यसपछि साथीहरूकै सल्लाहमा प्रेमी भनिएका किशोरले इनिसाको परिवार र गाउँलेलाई खबर गर्ने निधो गरे।

‘मैले लगाएको रगत लागेको ज्याकेट खोली झोलामा राखेँ। झोलामा रहेको सफा कपडाले मृतकलाई पुछिदिई उक्त स्थानमा छाडी साथीहरूसँगै बाहिर आएँ‘, उनले भनेका छन्।

चैत १६, २०८२ सोमबार ११:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।