मधेश प्रदेशमा एसइईमा कडाइ, परीक्षा हलमा मोबाइल भेटिए जफत गरी नष्ट गरिने

मधेश प्रदेशमा एसइईमा कडाइ, परीक्षा हलमा मोबाइल भेटिए जफत गरी नष्ट गरिने

जनकपुरधाम : आगामी चैत १९ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई थप व्यवस्थित र मर्यादित बनाउन मधेश प्रदेश सरकारले कडाइ गर्ने भएको छ। 

शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले परीक्षा केन्द्रमा परीक्षार्थी वा कर्मचारी जोसुकैको साथबाट मोबाइल फेला परेमा तत्काल जफत गरी नष्ट गर्न निर्देशन दिएकी छन्। उनले परीक्षा केन्द्रमा मोबाइललगायतका अन्य उपकरण पूर्णरुपमा बन्देज गरिएको बताइन्।

मन्त्रालयले आठवटै जिल्लाका सरोकारवालाहरूसँग छलफल गरी केन्द्राध्यक्ष बाहेक अन्य कुनै पनि कर्मचारी वा सुरक्षाकर्मीलाई समेत मोबाइल बोक्न निषेध गरेको छ। 

'मधेश प्रदेशमा एसइई परीक्षामा शान्तिपूर्ण, मर्यादित ढंगले सञ्चालन गर्ने, परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने व्यक्ति, कर्मचारीलाई कारबाही गर्ने, केन्द्रमा खटिएका केन्द्राध्यक्ष, कर्मचारी पूर्ण जिम्मेवारी रहनुपर्ने, केन्द्राध्यक्ष बाहेकले कर्मचारीले समेत मोबाइल लैजान निषेध गरिएको छ', उनले भनिन्, 'उनीहरूको साथबाट मोबाइल भेटिए तत्कालै जफत गर्ने, शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालयका तोकिएका कर्मचारीले अनगुमगन गर्ने, स्थानीय तहका शिक्षा अधिकृतले जिल्ला शिक्षा इकाईसँग समन्वय गर्ने र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ।'

मन्त्री तिवारीले परीक्षा केन्द्रमा पत्रकारलाई समेत निषेध गर्नुपर्ने बताएकी छन्। उनले रिपोर्टिङको नाममा परीक्षा केन्द्रभित्र पत्रकार गएर हलको वातावरण बिग्रिने भएकाले पत्रकारहरूलाई पनि परीक्षा केन्द्रभन्दा बाहिरैबाट रिपोर्टिङ गर्नका लागि आग्रह गरेकी छन्। 

उनले कुनै पनि किसिमको अनियमितता हुन नदिन कडा निगरानीको व्यवस्था गरिएको स्पष्ट पारिन् ।

 यस वर्ष मधेश प्रदेशबाट ८७ हजार ५९१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

चैत १६, २०८२ सोमबार १०:३९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।