इनिसा विक प्रकरण : ई-सेवामा पैसा पठाएर अघिल्लो दिन साथीलाई थप कन्डम किन्न लगाए, भोलिपल्ट घटना घटाए

इनिसा विक प्रकरण : ई-सेवामा पैसा पठाएर अघिल्लो दिन साथीलाई थप कन्डम किन्न लगाए, भोलिपल्ट घटना घटाए

सुर्खेत : वीरेन्द्रनगरको उषा बालबाटिका माध्यमिक विद्यालयम पढ्दै गरेकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्याको मुद्दा जिल्ला अदालतमा दर्ता भएको छ।

फागुन २३ गते बिहानै ‘स्कुलमा प्राक्टिकल छ’ भन्दै घरबाट निस्किएकी उनी कहिल्यै फर्किनन्। उनको वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वनमा बलात्कार र त्यसपछि हत्या भयो।

जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले मुलुकी अपराध संहिता, २०७४ बमोजिम ‘जबरजस्ती करणी गरी ज्यान मारेको’ (कर्तव्य ज्यान) कसुरमा चार जना नाबालक (सहपाठीहरू) विरुद्ध कडा सजायको मागदाबी गर्दै ४१ पृष्ठ लामो अभियोग पत्र अदालतमा पेस गरेको छ।

कन्डमको पूर्वतयारीदेखि जंगलको एकान्तसम्म
अभियोग पत्रका अनुसार मुख्य आरोपित परिवर्तित नाम ‘वीरेन्द्रनगर प’ र मृतक बालिका एउटै कक्षामा पढ्थे। उनीहरूबीच केही महिनादेखि प्रेम सम्बन्ध रहेको दाबी गरिएको छ।

तर, 'प' को मनसाय प्रेम मात्र थिएन। शारीरिक सम्बन्ध राख्ने नियतले उनले घटनाको एक महिना अगाडि नै साथीमार्फत ४ सय रुपैयाँ दिएर कन्डम किन्न लगाएका थिए।

घटनाको अघिल्लो दिन फागुन २२ गते ‘प’ले फेरि ती साथीलाई ई-सेवाबाट पैसा पठाएर थप कन्डम किन्न लगाए। भोलिपल्ट अर्थात् फागुन २३ गते बिहानै, ‘प’ ले मृतक बालिकालाई ह्वाट्सएपमा ‘Good morning meri mayaliu... Okii Im waiting’ भन्दै म्यासेज पठाए।

बालिकालाई फकाएर ‘प’ले जनजागरण सामुदायिक वनको एकान्त भिरालो ठाउँमा पुर्याए। त्यहाँ पुगेपछि उनले आफूसँग लगेको कन्डम प्रयोग गरेर बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ।

अत्यधिक रक्तस्राव र तड्पाइ
शारीरिक सम्बन्धकै क्रममा बालिकालाई अचानक अत्यधिक पीडा भयो। योनीबाट अत्यधिक मात्रामा रगत बग्न थाल्यो।

अभियोग पत्रमा उल्लेख गरिएको आरोपित ‘प’ को बयान अनुसार, बालिकाले ‘मलाई गाह्रो भयो’ भनेर चिच्याएकी थिइन्। अत्यधिक रक्तस्रावका कारण बालिकाको लुगा मात्र भिजेन, उनी रिङ्गटा लागेर भुइँमा ढलिन् र बेहोस भइन्।

बालिका जीवन र मृत्युको दोसाँधमा छटपटाइरहँदा, उनलाई तत्काल अस्पताल पुर्याउनुको साटो ‘प’ ले आफ्ना अन्य तीन साथीहरू (परिवर्तित नाम ‘ध’, ‘न’ र ‘फ’) लाई फोन गरेर गुहारे।

‘प’को फोन आएपछि स्कुटर चढेर साथीहरू ‘ध’, ‘न’ र ‘फ’ पालैपालो घटनास्थल पुगे। उनीहरू पुग्दा बालिकाको सास चलिरहेको थियो, तर उनी रगतमा लत्पतिएकी थिइन्। मुखबाट फिँज आइरहेको थियो।

मानवीय नाताले उनीहरूले तत्काल बालिकालाई उठाएर नजिकै रहेको आयुर्वेद अस्पताल पुर्याउन सक्थे। तर, उनीहरूले त्यसो गरेनन्।

‘प’ले बालिकाको रगत लागेको कपडा फेरिदिएर आफ्नो कालो ज्याकेट ओढाइदिए। चारै जना केटाहरू बालिकालाई त्यहीँ छोडेर घटना लुकाउने सल्लाह गर्न थाले। उनीहरूले बालिकालाई छुने वा बोक्ने प्रयास समेत गरेनन्।

केही बेरमै बालिकाको त्यहीँ तड्पी-तड्पी प्राण पखेरु उड्यो। बालिका मरेको यकिन भएपछि उनीहरू त्यहाँबाट भागे र केही नजानेको जस्तो गर्दै गाउँले र प्रहरीलाई ‘जंगलमा कोही बेहोस छ रे’ भन्दै उल्टै रमिते बनेर घटनास्थल पुगे।

पोस्टमार्टम रिपोर्टको भयावह निष्कर्ष
शव परीक्षण रिपोर्टले घटनाको बीभत्सतालाई झनै प्रष्ट पारेको छ। रिपोर्टका अनुसार मृतकको मृत्युको कारण ‘Exsanguinations Secondary to Genital Injuries’ अर्थात् यौनाङ्गमा लागेको गहिरो चोटका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको हो।

मेडिकल जाँचमा यौनाङ्गको भित्री भाग मा ३ सेन्टिमिटर लामो र १ सेन्टिमिटर गहिरो च्यात्तिएको घाउ भेटिएको थियो। यति गहिरो घाउ कसरी लाग्यो र अत्यधिक रक्तस्राव हुँदा पनि समयमै किन अस्पताल लगिएन भन्ने कुराले आरोपितहरूको चरम लापरवाही र आपराधिक मानसिकतालाई पुष्टि गर्ने अभियोगपत्रमा उल्लेख छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो समेतको टोलीले गरेको सुक्ष्म अनुसन्धानले आरोपितहरूलाई उम्किने कुनै ठाउँ दिएको छैन। घटनास्थलमा भेटिएको खोलिएको र नखोलिएको कन्डम, रगत लत्पतिएको पेन्टी, रगत लागेको माटो, र आरोपितहरूको मोबाइलको कल डिटेल रेकर्ड मुख्य प्रमाण हुन्।

त्यसैगरी, कर्णाली प्रदेश आयुर्वेद अस्पताल र आसपासका सिसीटिभी फुटेजमा आरोपितहरू बिहानको समयमा आत्तिएको अवस्थामा यताउता गरिरहेको प्रष्ट देखिन्छ। साथीले कन्डम किनेर दिएको र ई-सेवाबाट पैसा लिएको बयानले पूर्वयोजनालाई थप बलियो बनाएको छ।

सामाजिक पाटो: दलित भएकै कारण बेवास्ता?
मृतककी आमा र आफन्तहरूले दिएको बयानमा ‘हाम्री छोरी दलित भएकै कारण निज आरोपितहरूले समयमै उद्धार गरेनन्, बरु सामूहिक रूपमा करणी गरी हत्या गर्ने योजना बनाएरै लगेका हुन्’ भनिएको छ।

विद्यालयका शिक्षकहरूले समेत उनीहरूबीच प्रेम सम्बन्ध रहेको हल्ला सुने पनि फरक जात र उमेरको संवेदनशीलता बुझेर सम्झाइबुझाइ गरेको बयान दिएका छन्। घटना भएको दिन बालिका १६ वर्ष ७ महिनाकी मात्र थिइन्।

अभियोगपत्रमा ‘प’ ले करणी गरेको र अन्य तीन जनाले मतियारको रूपमा काम गर्नुका साथै उद्धार नगरी मृत्युको मुखमा धकेलेको भन्दै उनीहरू चारै जनामाथि सामूहिक जबरजस्ती करणी गरी ज्यान मारेको (कर्तव्य ज्यान) कसुर लगाइएको छ।

मुलुकी अपराध संहिताको दफा १७७ (१) बमोजिम जन्मकैद र दफा २१९ बमोजिमको सजायमा सामूहिक करणीको थप सजाय जोड्दा दफा ४१ (च) बमोजिम आजीवन कैदको सजाय माग गरिएको छ।

यद्यपि, आरोपितहरू १८ वर्ष मुनिका (नाबालक) भएकाले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६ (४) बमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको दुई तिहाइ (२/३) सजाय हुन मागदाबी लिइएको छ।

साथै, आरोपितहरूबाट मृतकको हकदारलाई कानुन बमोजिम मनासिब क्षतिपूर्ति र ५ लाख रुपैयाँ जरिवाना भराउन पनि माग गरिएको छ।

चैत १६, २०८२ सोमबार १०:३२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।