ओली र लेखकको पक्राउविरुद्ध सर्वोच्चमा रिट, आज सुनुवाइ
काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
एमाले अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेपाली कांग्रेसका नेता लेखककी पत्नी यशोदाले हिजो छुट्टाछुट्टै रिट दायर गरेका हुन्।
रिट निवेदनमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नभई पक्राउ गरिएको र थुनामा राख्ने कार्य गैरकानुनी तथा पूर्वाग्रही रहेको जिकिर गरिएको छ।
निवेदकहरूले आफ्ना पतिलाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराई थुनामुक्त गर्न माग गरेका छन्।
कार्की आयोगको प्रतिवेदनका आधारमा अघिल्लो शनिबार चैत १४ प्रहरीले भक्तपुरस्थित निवासबाट ओली र लेखकलाई पक्राउ गरेको थियो।
काठमाडौं जिल्ला अदालतले भने उनीहरूलाई पाँच-पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार प्रहरीलाई अनुमति दिइसकेको छ।
सर्वोच्चमा बहसपछि ओलीको थुनाबारे टुंगो लाग्ने अपेक्षा गरिएको छ।
चैत १६, २०८२ सोमबार ०९:५१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।