पाकिस्तानी खेलाडीमाथि ‘बल टेम्परिङ’ को आरोप

पाकिस्तानी खेलाडीमाथि ‘बल टेम्परिङ’ को आरोप

एजेन्सी : पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत लाहोर कलन्दर्सका एक खेलाडीमाथि ‘बल टेम्परिङ’को आरोप लागेको छ।

कराँची किंग्सविरुद्धको खेलमा सोही आरोपका कारण कलन्दर्सलाई ५ रनको पेनाल्टी तिराइएको थियो। अन्त्यमा उक्त खेल लाहोर कलन्दर्सले हार्न पुग्यो।

अम्पायरहरूका अनुसार, खेलको अन्तिम ओभर सुरु हुनुभन्दा ठीक अघि लाहोर कलन्दर्सका खेलाडी फखर जमानले 'गलत तरिकाले बलको अवस्था बदल्ने कोसिस' गरेका थिए।

अन्तिम ओभरमा कराँची किंग्सलाई जितका लागि १४ रन आवश्यक थियो। तर, अम्पायरले बल टेम्परिङको आरोपमा कलन्दर्सलाई ५ रनको पेनाल्टी दिए। साथै, कराँची किंग्सको मागअनुसार खेल भइरहेको बल पनि फेरिएको थियो।

पेनाल्टी पाएपछि कराँचीले जितका लागि ६ बलमा ९ रन मात्र बनाउनुपर्ने भयो। उक्त लक्ष्य कराँचीले ३ बलमै पूरा गर्दै सानदार जित निकाल्यो।

म्याचलगत्तै भएको प्रारम्भिक सुनुवाइमा फखर जमानले आफूमाथि लागेको बलसँग छेडछाड गरेको आरोप अस्वीकार गरेका छन्। यस विषयको विस्तृत सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरिएको छ।

यस घटनाबारे प्रतिक्रिया दिँदै कलन्दर्सका कप्तान शाहिन अफ्रिदीले भने, ‘मलाई यसबारे केही थाहा छैन। हामी क्यामेरामा के कैद भएको छ भनेर हेर्छौँ र त्यसपछि मात्र कुरा गर्नेछौँ।’

क्रिकेटको नियमले खेलाडीलाई बलसँग छेडछाड गर्ने अनुमति दिँदैन। क्रिकेट नियमको धारा ४१.३.२ अनुसार कुनै पनि खेलाडीले बलको स्वरूप बिगार्नु (टेम्परिङ गर्नु) अपराध हो।

खेलाडीले पसिना वा थुक लगाएर बललाई चम्काउने प्रयास गर्न सक्छन्, तर यसबाहेक बललाई कोर्ने, उप्काउने वा अन्य कुनै पनि प्रकारको तोडमोड गर्न पाइँदैन।

चैत १६, २०८२ सोमबार ०८:३१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।