६ दशकपछि रूप फेर्दै बुटवल-गोरुसिङ्गे सडक : ६ स्थानमा ‘फ्लाइओभर’ र १९ वटा वन्यजन्तु ‘अन्डरपास’
बुटवल : पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक खण्डलाई आधुनिक र स्मार्ट बनाउने लक्ष्यसहित स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको छ। यस परियोजनाअन्तर्गत रुपन्देही र कपिलवस्तुमा पहिलोपटक 'फ्लाइओभर'सहितको चार लेन सडक निर्माण भइरहेको छ।
ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको मोडललाई आधार मानेर यस खण्डका उच्च सवारी चाप हुने चोकहरूमा फ्लाइओभर बनाउन लागिएको हो।
सडक विस्तार आयोजनाकी प्रमुख तथा इन्जिनियर कुशलता न्यौपानेका अनुसार, रुपन्देहीका जितगढी, नयाँगाउँ, तामनगर, बुद्धनगर र मुर्गिया तथा कपिलवस्तुको जितपुर गरी ६ स्थानमा फ्लाइओभर निर्माण गरिनेछ।
‘पूर्व-पश्चिम आवागमनका मुख्य जंक्सन मानिने यी क्षेत्रमा ट्राफिक जाम न्यूनीकरण र सुरक्षित यात्राका लागि ग्रेड सेपरेटेड संरचनाका रूपमा फ्लाइओभर बनाउन लागिएको हो,’ न्यौपानेले भनिन्, ‘यसले बजार क्षेत्रमा सवारी साधनलाई बिनाअवरोध आवतजावत गर्न मद्दत पुर्याउनेछ।’
२४ प्रतिशत भौतिक प्रगति, छिट्टै कालोपत्रे सुरू हुने
आयोजनाअन्तर्गत पहिलो चरणमा बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक (रुपन्देही र कपिलवस्तुमा २५-२५ किलोमिटर) विस्तार भइरहेको छ।
हालसम्म करिब २४ प्रतिशत भौतिक प्रगति हासिल भएको र निकट भविष्यमै ८ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी रहेको आयोजनाले जनाएको छ।
सडकलाई चार लेनमा स्तरोन्नति गर्नुका साथै बीचमा डिभाइडर, सर्भिस लेन, व्यवस्थित ढल (ड्रेनेज), फुटपाथ र सडक बत्ती जडान गरिनेछ। सहरी क्षेत्रमा सडकको चौडाइ ५० मिटर, अर्धसहरी क्षेत्रमा ३७ मिटर र वन क्षेत्रमा २४ मिटर कायम हुने गरी डिजाइन गरिएको छ।
यद्यपि, निर्माण कार्य अघि बढ्दै जाँदा केही चुनौतीहरू पनि देखिएका छन्। नदीजन्य सामग्री (ढुंगा, गिट्टी, बालुवा) तथा माटोको अभाव र कपिलवस्तु खण्डमा करिब २०० वटा विद्युत्का पोल सार्नुपर्ने मुख्य समस्या रहेको निर्माण कम्पनीले जनाएको छ।

साथै, मध्यपूर्वको बढ्दो तनावका कारण सडक कालोपत्रे गर्न आवश्यक पर्ने अलकत्रा (बिटुमिन) को आपूर्ति प्रभावित हुन सक्ने जोखिम पनि रहेको आयोजना प्रमुख न्यौपानेले बताइन्।
वन्यजन्तुमैत्री सडक: १९ स्थानमा ‘अन्डरपास’
यो सडक खण्डलाई ‘वन्यजन्तुमैत्री’ बनाउन विशेष प्राथमिकता दिइएको छ।
बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटरमध्ये करिब १९ किलोमिटर सडक घना वन क्षेत्र (तराई आर्क ल्यान्डस्केप) बाट गुज्रिन्छ। बाघ, चित्तल, हरिण, स्याललगायतका वन्यजन्तुको सुरक्षित आवागमनका लागि वन क्षेत्रमा कम्तीमा १९ स्थानमा अन्डरपास निर्माण भइरहेको छ।
यी अन्डरपासहरू सानादेखि ठूला जनावरसम्म सहजै वारपार गर्न सक्ने गरी ३ देखि ६ मिटर वा सोभन्दा बढी उचाइका हुनेछन्।
सडकमा हुने दुर्घटनामध्ये ठूलो हिस्सा वन्यजन्तुसँग ठोक्किएर हुने गरेकाले यस्तो 'क्रसिङ करिडोर' अनिवार्य गरिएको हो। कतिपय स्थानमा सवारी साधन र पैदलयात्रुका लागि छुट्टाछुट्टै अन्डरपाससमेत निर्माण गरिनेछ।
६ दशकपछि पूर्ण स्तरोन्नति
करिब ६ दशकअघि तत्कालीन राजा महेन्द्रको पालामा निर्माण भएको यो सडकलाई वि.सं. २०३५/३६ तिर दुई लेनमा विस्तार गरिएको थियो। अहिले बढ्दो सवारी चाप र व्यापारिक गतिविधिलाई मध्यनजर गर्दै यसलाई 'स्मार्ट' र आधुनिक राजमार्गमा रूपान्तरण गर्न लागिएको हो।
करिब ६९ किलोमिटर लामो समग्र परियोजनाको कुल लागत ३२ देखि ३५ अर्ब रुपैयाँ अनुमान गरिएको छ, जसमा एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको ऋण सहयोग रहेको छ। परियोजनालाई दुई चरणमा विभाजन गरिएको छ। पहिलो चरणमा बुटवल-गोरुसिङ्गे (५० किमि) र दोस्रो चरणमा गोरुसिङ्गे-चन्द्रौटा (१९ किमि) विस्तार हुनेछ।
पहिलो चरणको निर्माणका लागि चिनियाँ कम्पनी ‘सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप’ र चितवनको ‘आशिष कन्स्ट्रक्सन सर्भिस’को संयुक्त उपक्रम (जेभी) सँग करिब १३ अर्ब ५५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो। यस परियोजनाअन्तर्गत ३० वटा पुल र १४९ वटा कल्भर्टसमेत निर्माण हुनेछन्।
चैत १६, २०८२ सोमबार ०८:१४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।