अमेरिकी स्थलगत आक्रमणको तयारीपछि इरानले भन्यो- ‘स्वागत छ, तर अमेरिकी सैनिक कफिनमा मात्रै फर्किनेछन्’

अमेरिकी स्थलगत आक्रमणको तयारीपछि इरानले भन्यो- ‘स्वागत छ, तर अमेरिकी सैनिक कफिनमा मात्रै फर्किनेछन्’

एजेन्सी : इरानमाथि अमेरिकी सेनाले स्थलगत आक्रमण गर्ने खबर सार्वजनिक भएसँगै इरानले त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।

भारतस्थित इरानी दूतावासले ‘तेहरान टाइम्स’को एक विशेष संस्करणको पहिलो पृष्ठ सेयर गर्दै लेखेको छ, ‘नर्कमा तिमीलाई स्वागत छ।’

तेहरान टाइम्सले आफ्नो मुख्य समाचारमै अमेरिकी सैनिकलाई लक्षित गर्दै लेखेको छ- ‘इरानको भूमिमा पाइला टेक्ने अमेरिकी सैनिकहरू कफिनमा (बाकसमा) मात्रै फर्किनेछन्।’

यसअघि अमेरिकी पत्रिका ‘वासिङ्टन पोस्ट’ले अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानमाथि हप्तौँ लामो स्थलगत कारबाहीको तयारी गरिरहेको दाबी गरेको थियो।

वार्ताको नाटक, आक्रमणको षड्यन्त्र
इरानी सरकारी समाचार एजेन्सी लगायतका सञ्चारमाध्यमले इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफको सन्देश प्रकाशित गरेका छन्।

द्वन्द्व सुरु भएको ३० दिन पुगेको दिन उनले भनेका छन्, ‘दुस्मनले बाहिर-बाहिर वार्ताको कुरा गर्छ, तर पर्दापछाडि स्थलगत आक्रमणको षड्यन्त्र रचिरहेको छ।’

उनले अमेरिकाले युद्धबाट हासिल गर्न नसकेका आफ्ना चाहनाहरूलाई ‘१५ बुँदे सूची’ मार्फत लाद्न खोजेको आरोप लगाए।

गालिबाफले इरानी सेना ‘अमेरिकी सैनिकहरू जमिनमा ओर्लिने पर्खाइमा रहेको र उनीहरूमाथि आगो बर्साइने’ चेतावनी दिए। इरानले कुनै पनि हालतमा आत्मसमर्पण र अपमान स्वीकार नगर्ने उनको भनाइ छ।

के अमेरिका स्थलगत आक्रमणको तयारीमा छ?
वासिङ्टन पोस्टका अनुसार यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको योजनालाई स्वीकृति दिए भने, युद्धको नयाँ र निकै खतरनाक चरण सुरू हुनेछ।

यसैबीच, अमेरिकी सेन्ट्रल कमाण्डले ‘युएसएस त्रिपोली’ नामक युद्धपोत यस क्षेत्रमा पुगिसकेको पुष्टि गरेको छ। उक्त युद्धपोतको नेतृत्वमा करिब ५,००० नौसैनिक तैनाथ छन्।

प्राप्त जानकारी अनुसार अमेरिकाले पूर्ण स्तरको युद्धभन्दा पनि 'स्पेसल अपरेसन फोर्स' र पैदल सेनामार्फत छापामार शैलीको कारबाही गर्ने योजना बनाएको छ।

हाल खाडी क्षेत्रमा चार हजार भन्दा बढी अमेरिकी नौसैनिक तयारी अवस्थामा छन् भने अन्य टुकडीहरूलाई पनि ‘अलर्ट’ मा राखिएको छ।

यसैबीच, मध्यपूर्वको अवस्थाबारे छलफल गर्न इजिप्ट, साउदी अरब र टर्कीका विदेशमन्त्रीहरू पाकिस्तानमा भेला भएका छन्। पाकिस्तानले अमेरिका र इरानबीच वार्ता गराउन मध्यस्थताको प्रस्तावसमेत गरेको छ।

अमेरिकाको आधिकारिक धारणा के छ?
राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै तत्कालै सेना पठाउने आफ्नो योजना नरहेको बताएका थिए। तर, उनले व्यङ्ग्यात्मक शैलीमा भनेका थिए, ‘यदि पठाउने नै भए पनि म तपाईँहरूलाई पक्कै भन्दिनँ।’

त्यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले बिना कुनै स्थलगत सेना नै आफ्ना लक्ष्यहरू हासिल गर्न सक्ने बताएका छन्। हालको सैन्य तैनाथी राष्ट्रपति ट्रम्पलाई परिस्थिति अनुसार निर्णय लिन सहज होस् भनेर विकल्पको रूपमा मात्र राखिएको उनको भनाइ छ।

अमेरिका र इरानबीच पुरानै अविश्वास
इरान र अमेरिकाबीचको अविश्वास नयाँ होइन। सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै इरानले अमेरिका र इजरायललाई आफ्नो मुख्य शत्रु मान्दै आएको छ।

हालै जेनेभामा अमेरिका र इरानबीच अप्रत्यक्ष परमाणु वार्ता भएको दुई दिनपछि नै यो पछिल्लो द्वन्द्व सुरु भएको हो।

इरानले सन् २०१५ को परमाणु सम्झौताबाट ट्रम्प पछि हटेका कारण अमेरिकामाथि विश्वास गर्न नसकिने बताउँदै आएको छ र अहिले यो शंका झनै बढेको छ।

साउदी अरबमा ड्रोन आक्रमण, कतारको टिभी च्यानलमा क्षति
यसैबीच, साउदी अरबले पछिल्लो केही घण्टामा १० वटा ड्रोन खसालेको दाबी गरेको छ। युएई र कुवेतजस्ता खाडी मुलुकहरूमा पनि रातभर आक्रमणका प्रयासहरू भएका छन्।

उता, कतारी टिभी नेटवर्क 'अल अरबी' ले तेहरानस्थित आफ्नो कार्यालयमा मिसाइल आक्रमणबाट क्षति पुगेको जनाएको छ। च्यानलले सार्बजनिक गरेको भिडियोमा सिसा फुटेको र भग्नावशेष देखिन्छ।

आक्रमण कसले गर्यो भन्ने स्पष्ट छैन र इजरायलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। यस क्षेत्रमा पछिल्लो २४ घण्टामा तनाव निकै बढेको छ।

चैत १६, २०८२ सोमबार ०७:३७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।