फरार दाबी गरिएका महेश बस्नेतले फेसबुकमा लेखे “म फरार छैन, बालेन र सुदनले पक्राउ गर्ने षडयन्त्र गरे’

फरार दाबी गरिएका महेश बस्नेतले फेसबुकमा लेखे “म फरार छैन, बालेन र सुदनले पक्राउ गर्ने षडयन्त्र गरे’

काठमाडौँ : एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ मिलेर आफूलाई पक्राउ गर्ने षडयन्त्र गरेको दाबी गरेका छन्। आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध भइरहेको आन्दोलनलाई कमजोर बनाउन राज्य शक्तिले आफूलाई निशाना बनाएको दाबी गरेका छन्।

बस्नेतले आफू विरुद्ध तीन वर्षअघि नै एक 'फेक' व्यक्तिलाई प्रयोग गरेर झुट्टा जाहेरी दर्ता गराइएको र त्यो प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको उल्लेख गरेका छन्।

"उक्त जाहेरीबारे उच्च अदालत पाटनमा दायर रिट समेत खारेज भइसकेको छ। अहिले फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक नक्कली जाहेरी दिन लगाई मलाई पक्राउ गर्ने योजनासहित मिडिया ट्रायल गरिँदैछ," उनले लेखेका छन्।

गृहमन्त्री र बालेन शाहमाथि गम्भीर आरोप

सचिव बस्नेतले आफू विरुद्धको यो कदममा गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री बालेन शाहको हात रहेको आरोप लगाएका छन्। उनले वर्तमान सरकारलाई 'निरङ्कुश र अधिनायकवादी' को संज्ञा दिँदै यस्ता कुकर्मको फल उनीहरूले भोग्नुपर्ने चेतावनी दिएका छन्।

'म फरार छैन'

आफ्नो फोन अफ रहेको र आफू फरार भएको भन्ने समाचारहरूको खण्डन गर्दै बस्नेतले ती प्रचारहरू पूर्णतः भ्रामक र गलत रहेको दाबी गरे। उनले हल्ला फैलाएर जनमत भ्रमित पार्न खोजिएको दाबी समेत गरे।

बस्नेतले भनेको घटना के हो ?

बस्नेत विरुद्ध प्रहरीमा पटक पटक जाहेरी दिने व्यक्ति हुन् शोभा पाठक। पाठकले बस्नेतमाथि बलात्कार र भ्रूण हत्याको आरोप लगाउँदै आएकी छिन्।

एमाले कार्यकर्ता समेत रहेकी शोभा पाठकले बस्नेत विरुद्ध जबरजस्ती करणी (बलात्कार), भ्रूण हत्या र डाँका चोरी समेतको आरोप लगाउँदै जाहेरी दिएकी हुन्। उनले बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको र औषधी खुवाएर दुई पटक भ्रूण हत्या गर्न लगाएको आरोप लगाएकी थिइन्।

उनले २०८० चैत २५ गते जिल्ला प्रहरी परिसर काठमाडौँले जाहेरी नलिएपछि हुलाकमार्फत जाहेरी दर्ता गराएकी थिइन्। तर, पर्याप्त प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो।

सरकारी वकिलको निर्णय विरुद्ध पाठकले उच्च अदालत पाटनमा रिट दायर गरिन्। सो विषय अहिले पनि उच्च अदालतमा विचाराधीन रहेको छ।

बलात्कार र भ्रूण हत्याको मुद्दा प्रक्रिया विचाराधीन रहेकै अवस्थामा शोभा पाठकले बस्नेत विरुद्ध साइबर अपराधको जाहेरी दिएकी थिइन्। महेश बस्नेत फ्यान क्लब नामक फेसबुक पेजबाट आफ्नो चरित्र हत्या भएको दाबी गर्दै उनले सो पेज बस्नेतले चलाउने दाबी गर्दै जाहेरी दिएकी थिइन्।

सो जाहेरी पनि सहजै दर्ता नभएपछि जिल्ला सरकारी वकिल कार्यालयले निर्देशन दिनु परेको थियो। साइबर ब्युरोले यो प्रकरणमा बस्नेतलाई बोलाएर बयान गराएको थियो।

नयाँ सरकार गठन र केपी ओलीको पक्राउ पछिको विकसित घटनाक्रममा शोभा पाठक पुनः आइतबार जिल्ला प्रहरी परिसर र सरकारी वकिलको कार्यालय पुगेर पुरानो मुद्दामा 'पूरक जाहेरी' र थप प्रमाण पेस गर्दै बस्नेतलाई तत्काल पक्राउ गर्न माग गरेकी थिइन्।

पाठक आफैँ पनि साइबर अपराधको आरोपमा मुद्दा खेपिरहेकी छिन्।

जेनजी आन्दोलनका आलोचक

जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली राजीनामा दिन बाध्य भए। उनी केही समय सेनाको सुरक्षा घेरामा बसेर पछि बस्नेतकै सक्रियतामा गुन्डुमा रहेको एक घरमा डेरामा बस्न थाले।

त्यसपछि बस्नेत भदौ २३ र भदौ २४ को आन्दोलनप्रति निकै आलोचक बने। उनले जेनजीको नाममा आपराधिक समूहले हिंसा फैलाएको भन्दै तत्कालीन मेयर बालेन र सुदनसहितका जेनजी अगुवा विरुद्ध तिखो प्रहार गर्दै आएका थिए।

जेनजीको नाममा भएको अराजकता रोक्न भन्दै फोर्सहरू गठन गर्ने चुनौती दिन सक्रिय रहेका उनी प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङको कटु आलोचक समेत हुन्।

चैत १५, २०८२ आइतबार २३:२५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।