वैशाखदेखि 'ब्रिज कोर्स' र प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न नपाइने, सरकारले लगायो पूर्ण रोक

वैशाखदेखि 'ब्रिज कोर्स' र प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न नपाइने, सरकारले लगायो पूर्ण रोक

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न तहका भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र 'ब्रिज कोर्स'हरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। फागुन १३ को मन्त्रिस्तरीय निर्णय अनुसार आगामी १ वैशाख २०८३ देखि यस्ता कक्षाहरू सञ्चालनमा रोक लगाउने घोषणा गरेका हुन्।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, विद्यालय तहदेखि उच्च शिक्षाका विभिन्न संकायमा भर्ना हुनुअघि विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका तयारी कक्षाहरू अब अवैध हुनेछन्।

किन गरियो बन्द? 

सरकारले यस्ता कोर्सहरूले विद्यार्थी र अभिभावकमाथि अनावश्यक आर्थिक तथा मनोवैज्ञानिक दबाब सिर्जना गरेको निष्कर्ष निकालेको छ। मन्त्रालयको विज्ञप्तिमा भनिएको छ "प्रवेश परीक्षा तयारी र ब्रिज कोर्सका नाममा सञ्चालित कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समानुपातिक पहुँचमा नकारात्मक प्रभाव पारेको छ। यसले विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ समेत थपेको देखिन्छ।"

मन्त्रालयले यो निर्णय कार्यान्वयनका लागि देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई अनुगमन गर्न अनुरोध गर्ने भएको छ। यदि कसैले नियम उल्लंघन गरी यस्ता कक्षाहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

विशेषगरी माध्यमिक शिक्षा परीक्षापछिको समयमा 'ब्रिज कोर्स'का नाममा काठमाडौं लगायतका मुख्य शहरहरूमा ठूलो आर्थिक कारोबार हुने गरेको थियो, जसलाई नियन्त्रण गर्न सरकारले यो कदम चालेको हो।

चैत १५, २०८२ आइतबार २०:३३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।