घरमा भेटिएको 'जलेको नोट' प्रकरणको अनुसन्धानमा दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। आइतबार बिहान जरुरी पक्राउ पुर्जीको आधारमा पक्राउ परेका खड्कालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो।
भदौ २४ गतेको 'जेनजी' आन्दोलनका क्रममा उनको घरमा जलेको रकम शंकास्पद रहेको भन्दै अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो। गृहमन्त्री सुधन गुरुङले खड्काको घरमा भेटिएको सो रकम र त्यसको स्रोतबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दिएको पक्राउ पुर्जी सार्वजनिक गरेका थिए।
के हो जलेको नोट प्रकरण?
भदौ २४ को आन्दोलनका क्रममा प्रदर्शनकारीले खड्काको घरमा तोडफोड र आगजनी गरेका थिए। सोही क्रममा उनको घरभित्र नेपाली र विदेशी नोटहरू जलेको अवस्थामा फेला परेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए। कतिपय प्रदर्शनकारीले सग्ला नोटहरू बोकेर बाहिर निस्किएको तस्बिर र भिडियो समेत सार्वजनिक भएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरी परीक्षणका लागि लगेको थियो। तर यसबारे उसले कुनै धारणा सार्वजनिक गरेको थिएन।
चैत १५, २०८२ आइतबार २०:००:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।