लेखकको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

लेखकको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौं : पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ।

लेखककी पत्नी यशोदा लेखकले रिट दायर गरेकी हुन् ।

'जेनजी' आन्दोलन दमन गरेको अभियोगमा प्रहरीले नेता लेखक र एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरेको थियो।

अध्यक्ष ओलीको रिहाइको माग गर्दै यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भइसकेको छ।

गत भदौ २३ र २४ गतेको 'जेनजी आन्दोलन'का घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो। पक्राउ परेका दुवै जनालाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। 

सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेको छ। पूर्वगृहमन्त्री लेखकलाई भौतिक रूपमै अदालत उपस्थित गराइएको थियो भने शिक्षण अस्पतालमा रहेका ओलीलाई भर्चुअल माध्यमबाट उपस्थित गराइएको हो। 

चैत १५, २०८२ आइतबार १६:२६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।