ओलीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट

ओलीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं : एमाले एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरिएको छ। ओलीकी धर्मपत्नी राधिका शाक्यले आइतबार दर्ता गरेको उक्त रिटमाथि सोमबार बहस हुने तय भएको छ।

रिट निवेदनमा ओलीलाई अनाधिकृत र गैरकानुनी रूपमा हिरासतमा राखिएको जिकिर गर्दै तत्काल रिहाइको माग गरिएको छ। कुनै पनि आयोगको प्रतिवेदन वा सुझावका आधारमा मात्रै व्यक्तिलाई सीधै पक्राउ गर्नु कानुनसम्मत नहुने तर्क रिटमा गरिएको छ। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार रितपूर्वक दर्ता भएको रिटमाथि भोलि अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ।

एमाले अध्यक्ष ओलीलाई शनिबार बिहान भक्तपुरको गुन्डुस्थित उनको निवासबाट प्रहरीले पक्राउ गरेको थियो। सोही प्रकरणमा एवं नेपाली कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन्। हाल ओली स्वास्थ्य उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा रहेका छन्।

गत भदौ २३ र २४ गतेको 'जेनजी आन्दोलन'का घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो। पक्राउ परेका दुवै जनालाई म्याद थपका लागि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। 

सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेको छ। पूर्वगृहमन्त्री लेखकलाई भौतिक रूपमै अदालत उपस्थित गराइएको थियो भने शिक्षण अस्पतालमा रहेका ओलीलाई भर्चुअल माध्यमबाट उपस्थित गराइएको हो। 

चैत १५, २०८२ आइतबार १४:४४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।