डा. सुलक्ष्मीको उपचार अनुभव : ‘१०७’ वर्षकी वृद्धाको आँखाको ज्योति फर्किएपछि भनिन्, ‘तिम्रो निधारमा टिकुली छैन त?’
काठमाडौं : नेत्ररोग विशेषज्ञ डा. सुलक्ष्मी कटवालले शल्यक्रिया गरी एक लाखभन्दा बढी व्यक्तिको आँखाको ज्योति फर्काएकी छन्।
सुगम मात्रै हैन, गाउँगाउँमा समेत पुगेर आँखा नै नदेख्ने भएका व्यक्तिको आँखाको ज्योति फर्काएकी उनले गाउँ र शहरका धेरै बिरामीको सुख दुःख नजिकबाट अनुभव गरेकी छन्। उनै नेत्ररोग विशेषज्ञ डा. सुलक्ष्मीले उकेरासँग चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका अनुभव साटेकी छन्।
डोकामा बोकेर ल्याइएकी ‘१०७’ वर्षकी वृद्धाको आँखाको ज्योति फर्किएपछि...
प्रसंग करिब १६ वर्ष अघिको हो। डा. सुलक्ष्मीसहित चिकित्सकको टिम आँखाको शिविर लगेर सल्यानको सल्लीबजार पुगेको थियो। आँखा शिविरमा करिब ‘१०७’ वर्षकी वृद्धालाई डोकामा बोकेर ल्याइयो।
मोतिबिन्दुका कारण ती वृद्धाले वर्षौंदेखि आँखा देख्न छोडेकी रहेछन्। उनलाई आँखा नदेखी मरिने हो कि भन्ने पिर थियो।
‘१०७’ वर्षीय ती वृद्धाको डा. सुलक्ष्मीले आँखाको जाँच गरिन्। परीक्षणपछि चिकित्सकको टिमले शल्यक्रिया गरी आँखाको ज्योति फर्काउन सकिने निष्कर्ष निकाल्यो।
डा. सुलक्ष्मीको नेतृत्वमा उनको दायाँ आँखाको सफल शल्यक्रिया गरियो। शल्यक्रिया पछि आँखामा पट्टी लगाइदिएर भोलीपल्ट पट्टी खोल्नलाई बोलायो।
भोलिपल्ट पट्टी खोल्ने बित्तिकै डा. सुलक्ष्मीलाई खुसी हुँदै चिनेको जसरी, ‘तिम्रो निधारमा त टिकुली छैन त?’, भनिन्। (स्थानीय भाषामा निधारमा लगाउने टीकालाई टिकुली भनेकी हुन्।)

पहिलो पटक नातीनातीना र पनाती पनातीहरुलाई देखेकी उनले सबैलाई एक एक गर्दै खुसीले काखमा राखिन्। वर्षौंपछि आफ्ना छोराछोरी र परिवारलाई देख्दा उनको खुशीको सीमा नै थिएन।
ती १०७ वर्षकी वृद्धाको आँखाको ज्योति फर्किएपछिको खुसी भएको क्षण डा. सुलक्ष्मी अहिले पनि सम्झिरहन्छिन्।
३० वर्षे महिलाका दुवै आँखाका ज्योति फर्काउँदाको खुसी
उकेराको नियमित कोलम डाक्टरको सुख दुखका लागि उकेराकर्मीसँग कुराकानी गर्दा उनले ३० वर्षकी महिलाको आँखाको ज्योति फर्काएको प्रसंग सम्झिइन्।
प्रसंग करिब १३ वर्ष अघिको हो। करिब ३० वर्षकी महिलाले मोतिबिन्दुका कारण केही वर्षदेखि दुवै आँखाको दृष्टि गुमाएकी थिइन्। डा. सुलक्ष्मीले शल्यक्रिया गरेर ती महिलाको आँखाको ज्योती फर्काइन्। फेरी आँखा देख्न थालेपछि ती महिला, श्रीमान र छोरा देखेर साह्रै खुसी भइन्।
दृष्टि फर्किएपछि उनको जीवन नै बदलियो।
कलिलो उमेरमै दुवै आँखाको ज्योती गुमाएकी उनलाई फेरी आँखा देख्नेभएसँगै उद्यमी बन्ने सोच आएछ। बोकेर अस्पताल ल्याइएकी उनी आँखा देख्ने भएपछि भने आत्मनिर्भर भएकी छन्।
उनले किराना पसल खोलेर राम्राे आम्दानी गरिरहेकी छन्। अरूको सहारामा हिँड्ने अवस्थाबाट उनी आफैं परिवारको आधार बनिन्।
नेत्र रोगसँग सम्बन्धित एउटा संस्थाले ती महिलालाई पछि नर्वे भ्रमणमा समेत लग्यो। आँखा नै नदेखेकी ती महिलाको आँखा देखाउन सकेकोमा डा. सुलक्ष्मी खुसी छन्।

वर्षौदेखि आफैलाई देख्न नसकेकी उनले आँखाको ज्योति पाएपछि भने संसार देखिन्। पछिसम्म पनि ती महिला फलोअपका लागि अस्पताल पुगेको डा. सुलक्ष्मी सम्झिन्छिन्।
एचए हुँदै आँखा देखाउने चिकित्सक
२०२७ सालमा इलाममा जन्मिएकी डा. सुलक्ष्मी सानैदेखि काठमाडौंमा हुर्किइन्। महेन्द्र भवन स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि उनले महाराजगञ्ज चिकित्सा क्याम्पसबाट एचए अध्ययन गरिन्।
डाक्टर बन्ने सपना बोकेकी उनले सन् १९९२ मा रसियाको तिबेर मेडिकल इन्स्टिच्युटमा एमबीबीएस अध्ययन सुरु गरिन् र सन् १९९९ मा पूरा गरेर नेपाल फर्किइन्। (भाषा अध्ययन सहितको सात वर्षे त्यो अध्ययनलाई रसियामा एमडी भनिन्छ भने नेपालमा एमबीबीएस सरहको मान्यता दिइन्छ।)
त्यसपछि नेपालका विभिन्न सरकारी अस्पतालमा करिब एक वर्ष इन्टर्नसिप गरेपछि तिलगंगा आँखा अस्पतालमा मेडिकल अधिकृतका रुपमा काम गरिन्।
काम गर्दै उनले उनले थप अध्ययन गर्ने निर्णय गरिन्। उनले स्नातकोत्तर तहको अध्ययनका लागि छनोट परीक्षाको तयारी गरिन्। छनोट पनि भइन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा सन् २००४ मा भर्ना भएर डा. सुलक्ष्मी चिकित्सा शास्त्रको स्नातकोत्तर तहमा नेत्ररोग (अफलाल्मोलोजी) विषयमा एमडी अध्ययन गर्न थालिन्। अभ्यास भने तिलगंगा आँखा अस्पतालमा गरिरहेकी थिइन्।
सन् २००७ मा उनको एमडी अध्ययन सकेर राप्ती आँखा अस्पतालको आर्थिक सहयोग (फेलोसिप)मा एमडी अध्ययन गरेकाले उनी राप्ती आँखा अस्पताल नै काम गर्न गइन्।
त्यसपछि उनी राप्ती आँखा अस्पतालमा कार्यरत भइन् र अस्पताल प्रमुखको जिम्मेवारीसमेत सम्हालिन्।
आँखाको समस्या भएका बिरामीको औषधि उपचार गर्ने तथा शल्यक्रिया गर्ने, आँखा नदेख्ने बिरामीलाई आँखा देखाउने अनि नेत्र रोगसँग सम्बन्धी खोज तथा अनुसन्धान गर्नु उनको दैनिकी हो।

नेत्ररोग विशेषज्ञ डा. सुलक्ष्मीले आँखा सम्बन्धी ‘अक्लोप्लास्टिक’ सर्जरीमा पनि विशेषज्ञता हासिल गरेकी छन्। हाल उनी ‘अक्लोप्लास्टी’ विशेषज्ञका रुपमा काम गरिरहेकी छन्।
यो आँखाका जन्मजात अंगभंग भएका रोगहरु, आँखाको वरिपरि चोटपटक लाग्ने रोगहरू, आँखाको डिलसम्बन्धी रोगहरू, आँखाबाट आँसु झर्ने नली सम्बन्धीका रोगहरु, आँखाको क्यान्सर सम्बन्धीका रोगहरूको उपचार गर्ने चिकित्सकीय विधि हो।
यस्तै, आँखाको परेला मिलाउने, चिम्सो आँखाको आकार मिलाउने, आँखाको बाहिरी आकार मिलाउने, आँखा वरिपरी पलाएका मासुका डल्ला निकाल्ने, आँखाको रिंकल मिलाउने, आँखाको डिल मिलाउने जस्ता आँखाको सौन्दर्यसँग सम्बन्धी शल्यक्रियामा पनि डा. सुलक्ष्मीको राम्रो दक्षता छ।
चैत १५, २०८२ आइतबार १८:३३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।