काठमाडौंमा आज पनि एमालेको प्रदर्शन, सिडिओलाई बुझायो विरोधपत्र (तस्बिरहरू)
काठमाडौं : पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा आइतबार एमालेले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई विरोधपत्र बुझाएको छ।
शनिबार बसेको पार्टीको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम एमालेले आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेर विरोधपत्र बुझाएको हो।
माइतीघर मण्डलामा भेला भई विरोध र्यालीसहित बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगेर विरोधपत्र बुझाएको हो। एमालेले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र त्यसका आधारमा सरकारले चालेको कदमप्रति असहमति र असन्तुष्टि जनाएको छ।
सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि एमाले आन्दोलित छ। एमालेले कार्की आयोगको प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण भन्दै उक्त घटनाको निष्पक्ष छानबिनका लागि नयाँ ‘उच्चस्तरीय छानबिन आयोग’ गठन गर्न माग गरेको छ।

पार्टीले आइतबार देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूमा पनि विरोधपत्र बुझाउने कार्यक्रम राखेको छ। अध्यक्ष ओली पक्राउपछिको विकसित राजनीतिक परिस्थितिबारे संसद्मा रहेका अन्य दलहरूसँग संवाद र सामूहिक प्रतिवादको संयोजन गर्न एमालेले नेताहरू विष्णु पौडेल, रामबहादुर थापा र गोकर्ण विष्टलाई जिम्मेवारी दिइसकेको छ।

सरकारको कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै एमालेले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। यता पक्राउ परेका ओली र लेखकलाई अदालतमा पेस गरिएको छ।





चैत १५, २०८२ आइतबार १४:११:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।