ओली पक्राउको विरोधमा बबरमहल क्षेत्रमा एमालेको प्रदर्शन
काठमाडौं : पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेका जनवर्गीय संगठनहरूले आइतबार देशैभरका जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउँदै छन्। एमालेले काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शनलाई निरन्तरता दिएको छ।
आइतबार दिउँसो ललितपुरमा एमाले कार्यकर्ताहरूले र्यालीसहित प्रदर्शन गरेका छन्। ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका प्रदर्शनकारीहरूले पक्राउको विरोधमा नाराबाजी गर्दै ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्।
यस्तै, काठमाडौंको माइतीघर-बबरमहल क्षेत्रमा पनि केहीबेर अघिदेखि एमालेका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरिरहेका छन्। माइतीघर मण्डलबाट नाराबाजी गर्दै बानेश्वरतर्फ आइरहेका उनीहरूलाई प्रहरीले बबरमहलमै रोकेको छ। एमालेका जनवर्गीय संगठनहरूले शनिबारदेखि नै सडकमा उत्रिएर विरोध सुरु गरेका थिए। काठमाडौंको माइतीघर क्षेत्रमा हिजो प्रदर्शन गरिएको थियो।
पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनका आधारमा प्रहरीले अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको थियो। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि दमन भएको विषयमा छानबिन गर्न उक्त आयोग गठन गरिएको थियो।
आन्दोलनको समयमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता लेखक गृहमन्त्री थिए। आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रक्रियामा दुवै नेतालाई पक्राउ गरिएको सरकारको दाबी छ। तर, एमाले सरकारको उक्त कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै प्रतिवाद गर्ने निर्णय गरेको छ। एमाले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने र धर्ना दिँदैछ।
चैत १५, २०८२ आइतबार १३:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।