जेन-जी आन्दोलनका शहीद परिवारलाई विद्युत् प्राधिकरणमा रोजगारी, ३५ दिनभित्र सम्पर्क गर्न सूचना
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले गत भदौ २३ र २४ गते भएको 'जेन-जी' आन्दोलनका शहीद परिवारका सदस्यहरूलाई रोजगारी दिने प्रक्रिया अघि बढाएको छ।
प्राधिकरणको जनसाधन विभागद्वारा आइतबार जारी एक सूचनामार्फत निवेदकहरूको नामावली, ठेगाना र शहीदसँगको नाता विवरण सार्वजनिक गर्दै कसैको हकदाबी लाग्ने भएमा सम्पर्क गर्न आग्रह गरेको छ।
'जेन-जी सुशासन योद्धा, २०८२' मा उल्लेखित शहीदहरूका सम्बन्धमा राहत सहायता उपलब्ध गराउने सम्बन्धि कार्यविधि, २०८२ को बुँदा नं. ११ बमोजिम यो प्रक्रिया सुरु गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको गत पुस २० गतेको पत्रानुसार विभिन्न २७ जना शहीद परिवारका व्यक्तिले रोजगारीका लागि प्राधिकरणमा निवेदन दिएका छन्।
प्रकाशित नामावलीमा उल्लेखित व्यक्तिहरू बाहेक अन्य कसैको हकदाबी लाग्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रमाणसहित प्राधिकरणको केन्द्रीय कर्मचारी प्रशासन शाखा, काठमाडौंमा सम्पर्क राख्न भनिएको छ।
निवेदन दिनेहरूमा गोरखा, सुनसरी, तेह्रथुम, बाजुरा, सिन्धुली, चितवन, मोरङ, दोलखा, बझाङ, कैलाली, काभ्रे, काठमाडौँ, झापा, ललितपुर, सिन्धुपाल्चोक, धनकुटा, बैतडी, उदयपुर, नुवाकोट र अर्घाखाँचीका रहेका छन्।

चैत १५, २०८२ आइतबार १२:४१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।