ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी

ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी

काठमाडौं : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई म्याद थपका लागि भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराइने भएको छ। 

स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीलाई भौतिक रूपमा अदालत लैजान नसकिने भएपछि भर्चुअल माध्यमबाट उपस्थित गराउन तयारी थालिएको हो।

भदौ २३ र २४ गतेको 'जेनजी' आन्दोलनका घटनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओलीलाई शनिबार बिहान भक्तपुरको गुन्डुबाट पक्राउ गरिएको थियो। सोही मुद्दामा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई भने आइतबार नै भौतिक रूपमा काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइसकिएको छ।

दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीको मुटुको चालमा अनियमितता देखिएपछि उनलाई शिक्षण अस्पतालमा राखेर उपचार र स्वास्थ्य परीक्षण भइरहेको छ। शनिबार साँझ र आइतबार बिहान गरिएको परीक्षणपछि चिकित्सकहरूले उनलाई अस्पतालबाट बाहिर ननिकाल्न र हिँडडुल नगराउन सुझाव दिएका थिए। 

चिकित्सकको सोही सल्लाहअनुसार सरकारी वकिल कार्यालयले भिडियो कन्फ्रेन्सिङमार्फत म्याद थपको प्रक्रिया अगाडि बढाउने तयारी अघि बढाइएको हो। ओली र लेखकमाथि लगाइएको मुद्दाको सुनुवाइ न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा भइरहेको छ। अदालतबाट म्याद थपको प्रक्रिया टुङ्गिएपछि ओलीको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गर्ने तयारी छ। 

चैत १५, २०८२ आइतबार १२:१८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।