तारेखका लागि रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा

तारेखका लागि रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित भएका छन्। सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दाको नियमित तारेख बुझ्न उनी अदालत पुगेका हुन्।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा कानुनी प्रक्रिया पूरा गर्न उनी अदालत पुगेका हुन्। जिबी राईले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनमा सहकारीको रकम गैरकानुनी रूपमा लगिएको दाबीसहित लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। 

लामिछाने उक्त टेलिभिजनमा त्यतिबेला प्रबन्ध निर्देशकका रूपमा कार्यरत थिए। उनीविरुद्ध देशका पाँच वटा जिल्ला अदालतमा मुद्दा दर्ता भएका थिए। सहकारीको बचत रकम टेलिभिजनमा प्रवाह गर्दा कानुनको उल्लङ्घन भएको आरोप सरकारी पक्षको छ।

सभापति लामिछानेले भने आफूमाथि लगाइएका यी आरोपहरू निराधार रहेको र राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको जिकिर गर्दै आएका छन्। उनले अदालतको प्रक्रियालाई सम्मान गर्दै अनुसन्धानमा सहयोग पुर्याउने बताउँदै आएका छन्।

चैत १५, २०८२ आइतबार ११:५९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।