खड्कालाई पक्राउ गर्न दिइएको ‘जरुरी पक्राउ पुर्जी’मा के छ ?
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई 'सम्पत्ति शुद्धीकरण'को कसुरमा अनुसन्धान गर्न नियन्त्रण लिइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जारी गरेको 'जरुरी पक्राउ पुर्जी'मा खड्कालाई पक्राउ गर्नुको कारण 'सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर' रहेको उल्लेख गरिएको छ। खड्कालाई आइतबार बिहान काठमाडौंको बुढानीलकण्ठस्थित उनकै निवासबाट नियन्त्रणमा लिइएको थियो।
खड्काको पक्राउका विषयमा सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा उनको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा नियन्त्रणमा लिइएको बताए।
गुरुङले भनेका छन्, “पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ।”
खड्कालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची ९ (दफा ९ को उपदफा ६ सँग सम्बन्धित) बमोजिम पक्राउ गरिएको जरुरी पक्राउ पुर्जीमा उल्लेख छ। यस प्रावधानअनुसार कसुरको गाम्भीर्यता र प्रमाण नष्ट हुन सक्ने अवस्थालाई हेरेर प्रहरीले अदालतको अनुमति पूर्व नै तत्काल नियन्त्रणमा लिन सक्छ।
के थियो घटना ?
'जेनजी' आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा त्यहाँ नेपाली र विदेशी नोटहरू भेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भिडियोमा नोट जलेको देखिन्थ्यो। आगजनीपछि केही प्रदर्शनकारीले सग्ला नोटहरू बोकेर हिँडेका दृश्यहरू समेत बाहिरिएका थिए।
घरभित्र त्यति ठूलो परिमाणमा नगद किन र कसरी राखिएको थियो भन्ने प्रश्न उठेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चासो देखाएको थियो। विभागले यसअघि नै घटनास्थलबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरी प्रमाणको रूपमा सुरक्षित राखेको थियो। सोही अनुसन्धानको प्रक्रियालाई निष्कर्षमा पुर्याउन सीआईबीले खड्कालाई नियन्त्रणमा लिएको हो।
चैत १५, २०८२ आइतबार ११:४५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।