ओली र लेखकको पक्राउ विरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिटको तयारी
काठमाडौं : जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री लेखकको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने तयारी गरिएको छ।
अहिले जिल्ला अदालत, काठमाडौंमा म्याद थपका लागि लगिएको र म्याद थप भइसकेपछि बन्दी प्रत्यक्षीकरणको रिट अपराह्न २ बजेपछि दर्ता गर्ने जनाइएको छ।
गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओली र लेखक दुवैका तर्फबाट गैरकानुनी पक्राउको दाबी गर्दै छुट्टाछुट्टै तर एकसाथ निवेदन पेश गरिँदैछ।
ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले निवेदन दिने तयारी गरेकी छन् भने एमाले निकट कानुन व्यवसायीहरूले बहस गर्नेछन्। यदि आज निवेदन दर्ता भएमा, यसबारे सोमबार प्रारम्भिक सुनुवाइ हुने सम्भावना रहेको जनाइएको छ।
एमालेले चैत १४ गते भएको यो गिरफ्तारीलाई 'गैरकानुनी र पूर्वाग्रही' भन्दै यसको राजनीतिक र कानुनी दुवै रूपमा कडा प्रतिवाद गर्ने निर्णय गरिसकेको छ।
चैत १५, २०८२ आइतबार ११:४२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।