प्रशासनिक झन्झट अन्त्यको तयारी, फाइल कुन टेबलमा कति समय बस्यो ट्रयाकिङ हुने

प्रशासनिक झन्झट अन्त्यको तयारी, फाइल कुन टेबलमा कति समय बस्यो ट्रयाकिङ हुने

काठमाडौं : सरकारले सार्वजनिक सेवा प्राप्त गर्दा नागरिकले भोग्नुपर्ने सास्ती र झन्झटलाई अन्त्य गर्नेगरि ‘डिजिटल रूपान्तरण’को योजना अघि सारेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको १०० बुँदे शासकीय सुधारको कार्यसूचीमा प्रविधिमार्फत प्रशासनिक ढिलासुस्ती हटाउने योजना ल्याएको देखिन्छ।

सूचना प्रविधि क्षेत्रको विद्यमान खण्डीकृत संरचनालाई अन्त्य गर्न ठूलो नीतिगत निर्णय लिइएको छ। हालको सूचना प्रविधि विभागलाई खारेज गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना गरिने छ। तीन महिनाभित्र उक्त कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

नयाँ संरचनाले एकीकृत, सुरक्षित र परिणाममुखी डिजिटल शासन प्रणालीको नेतृत्व गर्नेछ। सरकारका अनुसार, अघि सारेको ‘एउटा विवरण एक पटक मात्र’ (वन्स वन्ली) सिद्धान्तअनुसार अबको ६० दिनभित्र सरकारी प्रणालीहरूमा ‘अटो फिल’ व्यवस्था लागू हुनेछ।

डिजिटल शासन र डेटा गभर्नेन्स तथा सञ्चार

२८) सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी, कागजरहित तथा अन्तरआबद्ध बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायहरूमा १०० दिनभित्र विद्यमान (जिआइओएमएस) प्रणालीलाई सुदृढ र प्रयोगकर्तामैत्री बनाउने।

२९) सरकारसँग पहिले नै भएको नागरिकको वैयक्तिक विवरण (जस्तैः नागरिकता नम्बर हाल्दा नाम/ठेगाना) पुनः सोध्नुको सट्टा ‘अटो फिल’ हुने व्यवस्था सम्बन्धित कार्यालयहरूले आफ्ना प्रणालीहरूमा ६० दिनभित्र गर्ने। नागरिकले आफ्नो विवरण (जस्तैः नागरिकता नम्बर) सरकारलाई एक पटक दिएपछि, अन्य सरकारी निकायले सोही डेटा प्रयोग गर्ने वातावरण मिलाउने।

३०) सरकारी एप वा पोर्टलहरू अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकले पनि चलाउन सक्ने गरी सरल बनाउने कार्य १०० दिनमा सम्पन्न गर्ने।

३१) अनलाइन आवेदन प्रणालीलाई सहज बनाउन नागरिक एपमार्फत आवेदन दिने व्यवस्था मिलाउने। यसरी नागरिक एपमार्फत आवेदन दिँदा व्यक्तिले आफ्नो फोनमा रहेको एपले ‘लोकल्ली स्टोर’ गरेको विवरण वा अन्य प्रणालीबाट प्राप्त विवरणको आधारमा ‘फर्म फिल-अप’ गर्ने व्यवस्था मिलाउने। तर नागरिक एपले ‘सेन्ट्रली डाटा स्टोर’ गर्न भने नमिल्ने बनाउने। यस्तो व्यवस्थाबाट प्रहरी प्रतिवेदन, राहदानी र सवारीचालक अनुमतिपत्रका लागि आवेदन गर्न सकिने व्यवस्था ४५ दिनभित्र मिलाउने।

३२) आवेदन दिएको सेवा प्राप्त गर्न भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्था भएमा उपलब्ध मिति र समयमध्ये नागरिकलाई आफ्नो सुविधाको दिन र समयको ‘अपोइन्टमेन्ट’ लिन सक्ने व्यवस्था गरी सोहीअनुसार नागरिक सेवा केन्द्र वा सरकारी निकायमार्फत सेवा प्रवाह गर्ने व्यवस्था गर्ने तीन महिनाभित्र मिलाउने।

३३) ‘डिजिटल सिग्नेचर’ हाल ‘सर्टिफिकेट’को माध्ययबाट हुने गरेकोमा एनआइडी कार्ड, बायोमेट्रिक वा ओटिपीको प्रयोग गरी इ-सिग्नेचर गरी नागरिकले आफ्नो विवरण बुझाउन सक्ने व्यवस्था गर्ने। यसको लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको भौतिक तथा साङ्गठनिक सुदृढीकरण गर्ने। राष्ट्रिय परिचयपत्र नम्बरलाई आधार बनाई नागरिकका सबै सेवाहरूमा डिजिटल हस्ताक्षरद्वारा प्रमाणीकरण प्रणाली लागू गर्न गृह मन्त्रालयको संयोजकत्वमा अध्ययन गरी एक महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन दिने।

३४) फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने ट्रयाकिङ गर्ने र तोकिएको समय नाघेमा माथिल्लो अधिकारीलाई ‘अलर्ट’ जाने प्रणालीको उपयोग विद्यमान एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ३० दिनभित्र गर्ने।

३५) प्रमाणपत्रहरू नागरिकले आधिकारिक मोबाइल एप÷नागरिक एप वा इमेलमा ‘डाउनलोड’ गर्न मिल्ने व्यवस्था १५ दिनभित्र मिलाउने।

३६) सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल, एकद्वार र अन्तरआबद्ध प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले ‘राष्ट्रिय एकीकृत डिजिटल शासन प्लेटफर्म’ स्थापना गरी डिजिटल गभर्नेन्स ब्लुप्रिन्ट कार्यान्वयन गर्ने। यसअन्तर्गत ‘एउटा विवरण एकपटकमात्र बुझाउने’ सिद्धान्त अवलम्बन गर्दै सबै तहका सरकारका सेवा, डाटा र प्रणालीहरूलाई एकीकृत गरी डिजिटल सार्वजनिक पूर्वाधारमा आधारित राष्ट्रिय डाटा एक्सचेन्ज प्लेटफर्म स्थापना तथा सञ्चालनको कार्य १०० दिनभित्र प्रारम्भ गर्ने।

३७) नागरिकले एउटै डिजिटल प्लेटफर्ममार्फत सबै सेवा सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन, सेवा प्रवाहमा दोहोरोपनको अन्त्य गर्न, पारदर्शिता अभिवृद्धि तथा समय र लागत उल्लेख्य रूपले घटाउन डिजिटल गभर्नेन्स र व्यक्तिगत डाटा संरक्षणसम्बन्धी नीति तथा कानुनको तर्जुमा ६० दिनभित्र गर्ने।

३८) सूचना प्रविधि तथा डिजिटल गभर्नेन्ससम्बन्धी नियम बनाउने र नियमन गर्ने स्वतन्त्र नियामक निकायको स्थापनाका लागि आवश्यक कानुनी तथा संस्थागत प्रबन्ध ६० दिनभित्र गर्ने।

३९) नेपालको सूचना प्रविधि तथा विद्युतीय शासन प्रणालीमा विद्यमान खण्डीकृत संरचना, अन्तरआबद्धताको अभाव, मापदण्ड तथा संस्थागत समन्वयको कमजोरी, दक्ष जनशक्ति र प्राविधिक क्षमताको कमी तथा सेवा प्रवाहमा देखिएको अप्रभावकारिता समाधान गरी एकीकृत, सुरक्षित, दक्ष र परिणाममुखी डिजिटल शासन प्रणाली स्थापना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय स्थापना गर्ने कार्य तीन महिनाभित्र सम्पन्न गर्ने। हालको सूचना प्रविधि विभाग खारेज गर्ने तथा सूचना प्रविधिसम्बन्धी सबै सार्वजनिक निकायहरूलाई यस कार्यालयअन्तर्गत सञ्चालन गर्ने व्यवस्था मिलाउने।

४०) सूचना प्रविधि तथा विद्युतीय शासन विधेयक ६० दिनभित्र तर्जुमा गर्ने।

४१) National Enterprise Architecture Framework ६० दिनभित्र तयार गर्ने।

४२) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने।

चैत १५, २०८२ आइतबार ०९:४५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।