आइपिएलमा आरसीबीको विजयी सुरुवात
काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले विजयी सुरुवात गरेको छ।
शनिबार बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा आरसीबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ। हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
बेंगलुरुको जितमा विराट कोहलीले अविजित रहँदै सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेलेका हुन्। उनले ३८ बलको सामना गरेर ५ चौका र ५ छक्का प्रहार गरेका छन्। देवदत्त पडीकल २६ बलमा ६१ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए। कप्तान रजत पाटीदार ३१ रनमा आउट हुँदा टिम डेबिड १६ रनमा अविजित रहेका हुन्।
त्यसअघि टस जितेर घरेलु टोलीले बलिङ रोजेपछि ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०१ रनको योगफल तयार गरेको थियो। प्रतियोगिता अन्तरगत आइतबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच राति पौने ८ बजे वान्खडेमा सुरु हुनेछ।
चैत १५, २०८२ आइतबार ०८:५७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।