कांग्रेस नेता दीपक खड्का पक्राउ
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।
सीआईबीको टोलीले उनलाई आइतबार बिहान काठमाडौंको बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको हो। सीआईबी प्रमुख एआईजी मनोज केसीले खड्कालाई अनुसन्धानका लागि पक्राउ गरिएको पुष्टि गरेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको सम्पत्ति र आर्थिक गतिविधिमाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेपछि सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो।
गत भदौ २४ गते खड्काको निवासमा आगजनी हुँदा त्यहाँ ठूलो परिमाणमा नेपाली र विदेशी मुद्रा फेला परेको थियो। सोही घटनापछि उनीमाथि शंकास्पद धनको विषयमा अनुसन्धान सुरु भएको थियो।
यसका साथै, खड्कामाथि नेपाल स्काउटको लैनचौरस्थित जग्गा र भवन कब्जा गरी व्यावसायिक प्रयोजनमा प्रयोग गरेको र आर्थिक हिनामिना गरेको आरोप समेत छ। पक्राउ परेका खड्कालाई सीआईबी कार्यालयमा राखेर थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
चैत १५, २०८२ आइतबार ०८:४४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।