दुई दिनपछि खुल्यो अवरुद्ध बिपी राजमार्ग
काभ्रेपलाञ्चोक : शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आइतबार बिहान ६ बजेदेखि यातायात सञ्चालन भएको छ। जिल्ला प्रहरी कार्यालयले सडकमा दुईतर्फी यातायात सञ्चालनमा आए पनि मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ।
शुक्रबारदेखि परेको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको हो। उक्त खोलामा पानीको सतह घट्दै गएपछि डाइभर्सन गरिएको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ। यसअघि कार्यालयले राजमार्ग नखुलेसम्म सवारी आवागमनमा रोक लगाउँदै आएको थियो।
बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो। आइतबार बिहानैदेखि सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको सहयोगमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याउने प्रयास गरिएको हो।
गत वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा-नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको छ।
शुक्रबारको बाढीपहिरोले बिरुवाडाँडा, कालढङ्गा, चौकीडाँडा र मङ्गलटारमा कतै लेदोसहितको पहिरो तथा बाढीले राजमार्गको विभिन्न स्थानमा सडक बगाएको थियो। राजमार्ग अवरुद्धपछि राजमार्गअन्तर्गत प्रवेशमार्गस्थल धुलिखेलको काभ्रेभन्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने नेपालथोक र मङ्गलटारमा सवारी रोकिएको थियो।
चैत १५, २०८२ आइतबार ०८:०१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।