ओली पक्राउको विरोधमा आज देशभर प्रदर्शन र विरोध पत्र बुझाउँदै एमाले

ओली पक्राउको विरोधमा आज देशभर प्रदर्शन र विरोध पत्र बुझाउँदै एमाले

काठमाडौं : पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमालेले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा विरोध पत्र बुझाउने भएको छ। शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयअनुसार एमालेले आइतबार ७७ वटै जिल्लामा विरोधका कार्यक्रम तय गरेको हो।

एमाले सचिव महेश बस्नेतका अनुसार मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाउने कार्यक्रम रहेको छ। 'जेनजी' आन्दोलनका क्रममा भएको मानवीय क्षतिको घटनामा जाँचबुझ आयोगले दोषी ठहर गरेपछि शनिबार बिहानै अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए।

एमालेले भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगप्रति असहमति जनाउँदै त्यसलाई खारेज गरी उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ। पार्टीले अध्यक्ष ओली र नेता लेखकको गिरफ्तारीलाई 'गैरकानुनी र पूर्वाग्रही' भन्दै यसको राजनीतिक र कानुनी दुवै रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

परिस्थितिको सामना गर्न एमालेले तीन जना शीर्ष नेताहरूलाई विशेष जिम्मेवारी सुम्पेको छ। राजनीतिक संवाद र समन्वयका लागि उपाध्यक्ष विष्णु पौडेल, संसदमा रहेका दलहरूसँगको संवादका लागि उपाध्यक्ष रामबहादुर थापा 'बादल' र कानुनी प्रतिवादको संयोजन गर्न सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ।

यता, गृहमन्त्री सुधन गुरुङले भने ओली र लेखक पक्राउको कदम कुनै प्रतिशोध नभई न्यायको सुरुवात भएको दाबी गरेका छन्। पक्राउ परेका ओली र लेखक दुवैलाई आइतबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ।

एमालेले भने गिरफ्तारीविरुद्ध आइतबार नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्ने तयारी समेत गरेको छ। शनिबार ओली पक्राउ परेलगतै काठमाडौंको माइतीघर-बिजुलीबजार क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो। एमालेले आफ्ना कार्यकर्ताहरूलाई शान्तिपूर्ण तर सशक्त रूपमा विरोधमा उत्रन निर्देशन दिएको छ।

चैत १५, २०८२ आइतबार ०७:५१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।